काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई ‘अमेरिकी भूभाग’ घोषणा गरेका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा होर्मुज जलमार्गको नक्सा सेयर गर्दै उनले त्यसलाई ‘नयाँ अमेरिकी भूभाग’का रूपमा दाबी गरेका हुन् ।
अमेरिकाले आफ्नो नीति परिवर्तन नगरेसम्म जलमार्ग बन्द नै रहने इरानको अडानबीच ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो, जसले दुई देशबीचको तनाव थप बढाएको छ । यसअघि अगस्ट १४ मा लङ आइल्यान्डस्थित प्रहरी एकेडेमीमा आयोजित कार्यक्रममा ट्रम्पले चाँडै नै होर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका थिए । त्यसपछि अगस्ट १८ मा पनि उनले सोही नक्सा सामाजिक सञ्जालमा सेयर गरेका थिए।
इरानको प्रतिक्रिया
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले ट्रम्पको भनाइको खण्डन गर्दै अमेरिकाले होर्मुज जलमार्ग खुलाउन नसक्ने दाबी गरेका छन् । उनले वासिङ्टन र होर्मुजबीचको दूरी सात हजार माइलभन्दा पनि बढी भएको टिप्पणी गरेका छन्।
प्रतिबन्धको तयारी
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानविरुद्ध ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ घोषणा गर्ने तयारी गरिरहेका छन् । अमेरिकाले इरानी तेलको प्रमुख खरिदकर्ता चीनलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गरेको छ।
इरानको चेतावनी
इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले प्रस्तावित अमेरिकी प्रतिबन्धको आलोचना गर्दै त्यसलाई अन्य स्वतन्त्र राष्ट्रमाथि अमेरिकी क्षेत्राधिकार लाद्ने अवैध प्रयास तथा अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएका छन् । उनले छिमेकी राष्ट्रहरूलाई सम्बोधन गर्दै अमेरिकाको आर्थिक युद्धमा सहभागी हुने देशलाई इरानले ‘शत्रु’ मान्ने चेतावनी दिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्