काठमाडौं । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालका पुरातात्त्विक तथा सांस्कृतिक सामग्रीको आयातमा कडाइ गर्ने अन्तिम नियम जारी गरेको छ । नयाँ नियमअनुसार नेपालबाट अमेरिकामा पुरातात्त्विक तथा सांस्कृतिक सामग्री लैजान आधिकारिक प्रमाणपत्र अनिवार्य गरिएको छ ।
यो नियम सन् २०२६ अगस्ट १२ देखि २०३१ जनवरी ८ सम्म लागू हुनेछ । अमेरिकी निकायले आवश्यकता अनुसार यसको अवधि थप गर्न सक्ने जनाएको छ ।
नियमअनुसार नेपालबाट कानुनी रूपमा निर्यात गरिएको र नेपालको निर्यातसम्बन्धी कानुन उल्लंघन नभएको प्रमाणित गर्ने आधिकारिक कागजातबिना त्यस्ता सामग्री अमेरिकामा आयात गर्न पाइने छैन ।
प्रतिबन्धको दायरामा के–के पर्छन् ?
नयाँ नियमको दायरामा इसापूर्व ३२ हजारदेखि सन् १७७० सम्मका विभिन्न पुरातात्त्विक सामग्री राखिएका छन् । जसमा ढुंगा, माटो, धातु, प्लास्टर, चित्रकला, हात्तीको दाँत तथा हड्डी, काँच, छाला, भोजपत्र, काठ, सिपी र मानव अवशेषलगायत सामग्री छन् ।
त्यस्तै, १३औँ शताब्दीदेखि सन् १९५० सम्मका धार्मिक वास्तुकलासँग सम्बन्धित सामग्री, धार्मिक तथा सांस्कृतिक वस्तु र हस्तलिखित ग्रन्थसमेत प्रतिबन्धको दायरामा राखिएको छ ।
प्रमाणपत्र अनिवार्य
नयाँ व्यवस्थाअनुसार नेपालबाट अमेरिकातर्फ पुरातात्त्विक वा सांस्कृतिक सामग्री लैजाँदा नेपाल सरकारबाट जारी निर्यातसम्बन्धी आधिकारिक प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ ।
यस व्यवस्थाले नेपालबाट गैरकानुनी रूपमा निकासी गरिएका पुरातात्त्विक तथा सांस्कृतिक सामग्री अमेरिकामा पुग्न नदिन सहयोग गर्ने अमेरिकी पक्षको भनाइ छ । नयाँ नियमलाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्