म्याग्दी । म्याग्दी जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यमा पहुँच सहज बनाउन गत आर्थिक वर्षमा चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण गरिएको छ।
एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका पर्यटन पूर्वाधारसम्बन्धी योजनाअन्तर्गत पक्की तथा कच्ची पदमार्ग, आश्रयस्थल, विश्रामस्थल, सत्तल, पर्खाल तथा घेराबार निर्माण गरिएको हो।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणका लागि २४ वटा योजनामा एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये एक करोड १० लाख रुपैयाँ बराबरका १९ वटा योजना सम्पन्न भएका छन्।
कार्यालयका प्रमुख सम्झेर घर्ती क्षेत्रीका अनुसार प्रतिकूल भूगोल, मौसम तथा अन्य विभिन्न कारणले ३० लाख रुपैयाँ बजेट विनियोजन भएका पाँच वटा योजना भने कार्यान्वयन हुन सकेनन्।
“सम्पूर्ण योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन्,” क्षेत्रीले भने, “निर्माण भएका पूर्वाधारले पर्यटक, स्थानीयवासी तथा पर्यटक क्षेत्रमा काम गर्ने मजदुरको आवतजावतलाई सहज बनाएको छ।”
पर्यटकीय र धार्मिक क्षेत्रमा पूर्वाधार
मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा ५२० मिटर पक्की पदमार्ग निर्माण गरिएको छ। सोही क्षेत्रको धार्मिक स्थल प्रभुचेलामा तीन कोठे आश्रयस्थल भवनसमेत निर्माण भएको छ।
त्यस्तै, मालिका गाउँपालिका–४ मा गौखेरेबाट मतौका चनौटे तथा वडा नम्बर ३ को लामखोरिया–डाडागाउँ जोड्ने पदमार्ग निर्माण गरिएको छ।
बेनी नगरपालिका–९ मा ढाडापधेरा–आरोटा–पाखाथर तथा वडा नम्बर ८ को बराहपाखो क्षेत्रमा पदमार्ग निर्माण गरिएको छ। बेनी नगरपालिका–१ स्थित सनातन धार्मिक आश्रम र वडा नम्बर २ को पर्यटकीय क्षेत्र लभ्लीहिलमा घेराबार निर्माण गरिएको कार्यालयले जनाएको छ।
मंगला गाउँपालिका–४ को गम्फाधुरी तथा धवलागिरि गाउँपालिका–४ अन्तर्गत खिवाङ–चेचुङ जोड्ने पदमार्ग पनि निर्माण गरिएको छ।
त्यसैगरी रघुगंगा गाउँपालिका–३ को गलेश्वरदेखि बगैचासम्म, वडा नम्बर ५ र ६ को फुलडाँडामा पदमार्ग निर्माण गरिएको छ भने वडा नम्बर ३ स्थित गायत्री मन्दिरमा सत्तल निर्माण भएको छ।
अन्नपूर्ण क्षेत्रमा पनि पदमार्ग विस्तार
पर्यटनको दृष्टिले महत्वपूर्ण अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा पनि पदमार्ग निर्माण गरिएको छ। वडा नम्बर ४ को नारच्याङ झरना, वडा नम्बर ७ को टिकोटबाट सोबन्ध, वडा नम्बर १ को मारका, वडा नम्बर ६ को चित्रे हुँदै घान्द्रुक देउराली तथा वडा नम्बर ३ को फगाम–सुवा–दुवारी–मतिचौर जोड्ने पदमार्ग निर्माण भएको छ।
यी पूर्वाधारले स्थानीय तथा बाह्य पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज बनाउने र म्याग्दीको ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चालु वर्षमा २४ योजनाका लागि एक करोड ८५ लाख
चालु आर्थिक वर्ष २०८३/८४ मा पनि गण्डकी प्रदेश सरकारले म्याग्दीका पर्यटन पूर्वाधार निर्माणका लागि २४ वटा योजना स्वीकृत गर्दै एक करोड ८५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।
कार्यालयका इन्जिनियर सुमन बोगटीका अनुसार बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तथा उपभोक्ता समिति गठनको काम अघि बढाइएको छ।
“योजनाको प्राविधिक तयारी पूरा गर्दै कार्यान्वयन प्रक्रिया सुरु गरिएको छ,” बोगटीले बताए।
पर्यटकीय गन्तव्यसम्म पुग्ने पदमार्ग, आश्रयस्थल र अन्य आधारभूत संरचना विस्तारसँगै म्याग्दीको प्राकृतिक, धार्मिक तथा ग्रामीण पर्यटनलाई थप व्यवस्थित र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्