काठमाडौं । जमलस्थित टप दरबार रोधी क्लबमा तीन दिनदेखि जारी ‘लोकदोहोरी मेला २०८३’ आज समापन हुँदैछ। क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजित मेलाको अन्तिम दिन प्रकाश सपुत, रामजी खाँण, शान्ति रानी परियार, नारायण रायमाझीलगायत करिब एक दर्जन चर्चित कलाकारले प्रस्तुति दिने भएका छन्।
भदौ ५ गते भव्य उद्घाटनसँगै सुरु भएको मेलाले पहिलो दिनदेखि नै दर्शकको उल्लेख्य साथ पाएको आयोजकले जनाएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डिसीले मेलाको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा अतिथि कलाकार तथा विशिष्ट व्यक्तित्वलाई बाजागाजासहित स्वागत गरिएको थियो। दुर्गेश थापा, बद्री पंगेनीलगायत कलाकार तथा अतिथिको उपस्थितिले समारोह थप आकर्षक बनेको थियो।
उद्घाटनपछि भएको सांगीतिक कार्यक्रममा ज्योति मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनीलगायत दर्जनौँ कलाकारले प्रस्तुति दिएका थिए।
लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो। विश्वज्योति मलको चौथो तलास्थित टप दरबार रोधीको हल दर्शकले खचाखच भरिएपछि कतिपय दर्शकलाई कार्यक्रमस्थलमा प्रवेश गराउन नसकिएको आयोजकले जनाएको छ। दर्शकले कलाकारका प्रस्तुतिमा गीत गाउँदै, नाच्दै र ताली बजाउँदै साथ दिएका थिए।
तीन दिनसम्म चलेको मेलामा लोकदोहोरी क्षेत्रका स्थापित कलाकारसँगै नयाँ पुस्ताका कलाकारले समेत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।
मौलिक लोकसंगीत प्रवर्द्धन गर्ने उद्देश्य
टप दरबार रोधी क्लबले नेपाली मौलिक लोकसंगीत, कला, संस्कृति तथा रोधी परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको जनाएको छ। स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई मञ्च उपलब्ध गराउने र कलाकार तथा दर्शकलाई एउटै थलोमा जोड्ने उद्देश्य पनि मेलाको रहेको आयोजकको भनाइ छ।
क्लबका सञ्चालक अशोक गिरी करिब २५ वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमा सक्रिय छन्। उनले यसअघि सञ्चालन गरेका विभिन्न दोहोरी साँझ तथा रोधीमार्फत धेरै कलाकारलाई सांगीतिक यात्रा अघि बढाउने अवसर दिएको बताइएको छ।
टप दरबार रोधीलाई पनि लोकसंगीत र कलाकारको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको गिरीले बताए।
करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधीमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ। क्लबका अनुसार यहाँ प्रत्यक्ष रूपमा १०० भन्दा बढीले रोजगारी पाएका छन्।
नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, आधुनिक प्रविधि तथा पारिवारिक वातावरणलाई क्लबका प्रमुख विशेषताका रूपमा अघि सारिएको छ।
अन्तिम साँझमा चर्चित कलाकारको प्रस्तुति
तीन दिनसम्म साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन भएको मेला आज अन्तिम सांगीतिक प्रस्तुतिसँगै समापन हुँदैछ।
पहिलो दिनको भव्य उद्घाटनदेखि दर्शकको खचाखच उपस्थितिसम्म उत्साहजनक बनेको मेलाको अन्तिम साँझमा पनि चर्चित कलाकारहरूको प्रस्तुतिले जमलको सांगीतिक माहोल तताउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्