पोखरा । सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘शुभ विवाह’को पोखराबाट औपचारिक रूपमा छायांकन सुरु भएको छ। निर्माण टोलीले क्यामेरा पूजा गर्दै आइतबारदेखि फिल्मको छायांकन थालेको हो।
निर्देशक थापाका अनुसार फिल्मको छायांकन ४५ दिनमा सक्ने गरी तालिका तय गरिएको छ। फिल्मका कलाकार तथा प्राविधिक टोली अहिले पोखरामा रहेर छायांकनमा सहभागी भइरहेका छन्।
प्रदीप र सनिशाको जोडी
प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको ‘शुभ विवाह’मा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। निर्देशक थापा र अभिनेता खड्काले यसअघि सफल फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। लामो समयपछि उनीहरूको पुनर्मिलन भएकाले फिल्मलाई लिएर सिने क्षेत्रमा चासो बढेको छ।
सुप्रिया कटुवाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवले कथा लेखेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।
यस्तो छ प्राविधिक टोली
फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहनेछ। विक्रम स्वारले नृत्य निर्देशन गर्नेछन् भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।
विराज ढुंगाना कानुनी सल्लाहकार र भेष ढकाल लेखापरीक्षक रहेको फिल्मको एजेन्सी प्रसुन तिमिल्सिना (कार्यालय) हो।
फागुन २१ देखि प्रदर्शन
‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। बुढासुब्बा डिजिटल फिल्मको डिजिटल पार्टनर रहेको छ भने भीष्म फिल्म्स् र श्री राम बालाजीले फिल्म वितरण गर्नेछन्।
पोखराका रमणीय स्थानमा समेत छायांकन गरिने फिल्म प्रेम र सम्बन्धको कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्