कपिलवस्तु । सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा, नागरिक सेवा र शान्ति–सुरक्षाको जिम्मेवारीमा थप संवेदनशील र जिम्मेवार भएर काम गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
रूपन्देहीस्थित विन्ध्यवासिनी बाहिनी मुख्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै समयानुकूल सुरक्षा रणनीति अपनाउनुपर्नेमा जोड दिए।
उनले संगठनले हासिल गरेको व्यावसायिक क्षमता र अनुभवलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा प्रयोग गर्न आग्रह गरे। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा तथा राष्ट्रिय हितको संरक्षणमा सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो।
महानिरीक्षक पौडेलले संगठनभित्र उच्चस्तरीय अनुशासन कायम राख्न निर्देशन दिँदै जिम्मेवारी निर्वाहका क्रममा व्यावसायिकता र नैतिकतालाई प्राथमिकता दिनुपर्ने बताए।
नागरिकको सेवा र शान्ति–सुरक्षासँग सम्बन्धित जिम्मेवारी पूरा गर्दा मानवअधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले जोड दिए। आवश्यकताअनुसार र कानुनी सीमाभित्र रहेर मात्र बल प्रयोग गर्न उनले निर्देशन दिएका छन्।
महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई संगठनको प्रमुख जिम्मेवारीका रूपमा उल्लेख गर्दै बदलिँदो परिस्थिति र सुरक्षा चुनौतीअनुसार कार्यशैली तथा रणनीतिमा सुधार गर्नुपर्ने बताए। उनले सशस्त्र प्रहरी बलको क्षमता, अनुशासन र व्यावसायिक दक्षतालाई राष्ट्र र नागरिकको सेवामा समर्पित गर्न निर्देशन दिएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्