काठमाडौं । पश्चिम एसियामा कूटनीतिक गतिविधि तीव्र भइरहेका बेला इरानलाई साउदी अरब, पाकिस्तान र टर्की सम्मिलित रक्षा गठबन्धन ‘मक्का प्याक्ट’मा सहभागी हुन निमन्त्रणा दिइएको दाबी गरिएको छ।
इरानी संसद्को खानेह मेल्लत समाचार एजेन्सीका प्रमुख मेहदी रहीमीलाई उद्धृत गर्दै अल मयादीनले इरानलाई यस्तो प्रस्ताव गरिएको जनाएको हो। रहीमीका अनुसार इरानले प्रस्तावबारे विचार गरिरहेको छ भने क्षेत्रीय मुलुकहरू साझा सुरक्षा संरचनातर्फ अघि बढिरहेका छन्। यद्यपि, साउदी अरब, पाकिस्तान र टर्कीका तर्फबाट यसबारे आधिकारिक पुष्टि भएको छैन।
‘मक्का प्याक्ट’ के हो ?
साउदी अरब, पाकिस्तान र टर्कीले अगस्ट ७ मा मक्कामा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार तीनमध्ये कुनै एक मुलुकमाथि सशस्त्र आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमण मानेर सामूहिक रूपमा प्रतिक्रिया जनाउने व्यवस्था गरिएको छ।
टर्कीका परराष्ट्रमन्त्री हाकान फिदानले उक्त सुरक्षा व्यवस्थालाई नेटोको अनुच्छेद ५ सँग तुलना गरेका छन्। सम्झौताको उद्देश्य संयुक्त सैन्य अभ्यास, रक्षा उद्योगमा सहकार्य तथा आपसी सुरक्षा समन्वय विस्तार गर्नु रहेको बताइएको छ।
साउदी–इरान सम्बन्धमा नयाँ मोड
साउदी अरब र इरान लामो समयदेखि मध्यपूर्वका प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वीका रूपमा रहँदै आएका थिए। तर, चीनको मध्यस्थतामा सन् २०२३ मा दुवै देशले कूटनीतिक सम्बन्ध पुनःस्थापना गरेका थिए।
यमन युद्धका क्रममा साउदी अरबले त्यहाँको सरकारलाई र इरानले हुथी विद्रोहीलाई समर्थन गरेपछि दुई देशबीच लामो समय तनाव रहँदै आएको थियो।
अगस्ट १० मा इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने ‘मक्का प्याक्ट’प्रति इरानको कुनै आपत्ति नरहेको बताएका थिए। यस्तो अवस्थामा इरानलाई समेत गठबन्धनमा सहभागी गराउने प्रस्ताव आएको दाबीले क्षेत्रीय सुरक्षा समीकरणमा नयाँ बहस जन्माएको छ।
बदलिँदो भू–राजनीतिक समीकरण
इरान ‘मक्का प्याक्ट’मा सहभागी भएमा मध्यपूर्वको सुरक्षा संरचना र क्षेत्रीय शक्ति सन्तुलनमा महत्वपूर्ण परिवर्तन आउन सक्ने विश्लेषण गरिएको छ।
पछिल्लो समय अमेरिका लगायत बाह्य शक्तिको प्रभावबीच पनि मध्यपूर्वका देशहरू आफ्नै सुरक्षा संयन्त्र बलियो बनाउन सक्रिय देखिएका छन्। इरानसमेत समेटिने अवस्थामा साउदी अरब, पाकिस्तान, टर्की र इरानबीचको सुरक्षा सहकार्यले पश्चिम एसियाको भू–राजनीतिक समीकरणलाई नयाँ दिशातर्फ लैजान सक्ने देखिन्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्