तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
आइतबार साँझ करिब ७ः४५ बजे माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाउने काम निरन्तर जारी राखिएपछि सोमबार बिहान सडक एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार सडक आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि यातायात सञ्चालनमा ल्याइएको हो। “अहिले एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गराइएको छ। चाँडै दुवैतर्फबाट यातायात सञ्चालन हुने गरी सडक खुलाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो।
पहिरो खसेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जना र प्रहरी चौकी डुम्रेबाट पाँच जना गरी २० जनाको टोली घटनास्थलमा खटिएको थियो।
पहिरोको जोखिम कायमै
प्रहरीका अनुसार छिर्कने क्षेत्रमा पहिरो खस्ने जोखिम अझै कायमै रहेकाले हाल सडक एकतर्फी मात्र सञ्चालन गरिएको छ। सडक आयोजनाको मेसिन प्रयोग गरी बाँकी पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
पहिरोका कारण आइतबार साँझ पृथ्वीराजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको थियो। प्रहरीले तत्काल घटनास्थलमा पुगेर पहिरो हटाउने तथा यातायात व्यवस्थापनको काम अघि बढाएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्