ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु


ABC NEWS
८ भदौ २०८३, सोमबार   ११ : ४५   बजे

हेटौँडा । विसं २०५७ देखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भएको छ । २०३२ सालमा स्थापना भई २०३५ देखि २०५६ सालसम्म कपडा उत्पादन गरेको उद्योग सञ्चालनका लागि वर्तमान सरकारले गत असारदेखि भौतिक पूर्वाधार तथा उपकरणको अवस्था परीक्षण र मर्मतको काम अघि बढाएको थियो । उद्योगको मर्मतसम्भारका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा भएपछि नेपाली सेनाले काम अघि बढाएको हो । अहिले उद्योग परीक्षण उत्पादनको चरणमा पुगेको छ ।

हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा पहिलो चरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक पोसाक तथा सामग्रीमा प्रयोग गर्दै क्रमशः व्यावसायिक उत्पादनमा लैजान सकिने विज्ञहरूको सुझाव छ । हेटौँडा कपडा उद्योगसँगै बुटवलको धागो र बाँकेको कपास उत्पादनसम्बन्धी उद्योगसमेत सञ्चालन गर्न सके कच्चा पदार्थको आपूर्ति सहज हुने देखिन्छ । त्यसका लागि सरकारले कृषकलाई कपास खेतीतर्फ आकर्षित गर्न तालिम, उपकरण र उन्नत बीउबिजन उपलब्ध गराउनुपर्ने आवश्यकता छ । अन्य बालीको तुलनामा कपास खेतीमा बाँदरबाट कम क्षति हुने भएकाले बाँदर आतङ्कबाट प्रभावित कृषकका लागि पनि यो वैकल्पिक खेती बन्न सक्ने सम्भावना छ ।

पुनरुत्थानको पहल

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारी पहलले कपडा आयातमा रहेको नेपालको निर्भरता घटाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । विसं २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गरिएको थियो । त्यसैका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने विषय अघि सारिएको थियो ।

सघन गृहकार्यसहित अघि बढाइएको प्रक्रिया सरकार परिवर्तनसँगै रोकिएको थियो । वर्तमान सरकारले यसलाई पुनः अघि बढाउनु सकारात्मक कदमका रूपमा लिन सकिन्छ । हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालन गर्न सके आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्छ । उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका दृष्टिले यस्ता उद्योगको पुनरुत्थान आवश्यक देखिन्छ । सरकारले यो प्रक्रियालाई परिणाममुखी बनाउन सके रोजगारीका अवसर सिर्जना हुनुका साथै युवाको विदेश पलायनसमेत कम गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

उद्योग बन्द हुनुका कारण

नेपालमा स्थापना भएका धेरै उद्योग आर्थिक, राजनीतिक र व्यवस्थापकीय कारणले बन्द भएका छन् । कमजोर व्यवस्थापन, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप, विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, कच्चा पदार्थ तथा इन्धनको समस्या, उच्च ढुवानी लागत, लगानीमैत्री वातावरणको अभाव र कमजोर बजारीकरणका कारण नेपाली उत्पादन महँगो हुँदा उद्योगहरू घाटामा जाने गरेका छन् । परिणामस्वरूप कतिपय उद्योग बन्द भएका छन् ।

नेपालमा आधुनिक औद्योगिक विकासको सुरुआत विसं १९९३ मा मोरङको विराटनगरमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाको शासनकालमा विराटनगर जुट मिल स्थापनासँगै भएको मानिन्छ । उद्योगले जुटका धागा, बोरा, डोरीलगायत सामग्री उत्पादन गर्दै आएको थियो । यसको स्थापनापछि मोरङ–सुनसरी क्षेत्रमा अन्य उद्योग खुल्दै औद्योगिक क्षेत्र विस्तार भएको थियो । विसं २००३ मा यहीँका मजदुरले गरेको ऐतिहासिक हडतालले राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलनलाई समेत बल पुर्‍याएको थियो । पटकपटक सञ्चालन र बन्द हुँदै आएको विराटनगर जुट मिल राजनीतिक हस्तक्षेप, आर्थिक समस्या र कमजोर व्यवस्थापनका कारण धराशायी हुँदै विसं २०७० देखि पूर्ण रूपमा बन्द छ ।

सार्वजनिक संस्थानको अवस्था

विसं २०४२ देखि सुरु भएको सातौँ पञ्चवर्षीय योजनाको अन्त्यसम्म नेपालमा अधिकतम ६२ वटा सार्वजनिक संस्थान स्थापना भएका थिए । सरकारले विभिन्न समयमा अवलम्बन गरेको निजीकरण नीतिपछि अहिले सार्वजनिक संस्थानको संख्या ४४ मा सीमित भएको छ । तीमध्ये ३९ वटा सञ्चालनमा छन् । सञ्चालनमा रहेका संस्थानमध्ये २४ वटा मुनाफामा र १८ वटा घाटामा रहेको उल्लेख छ भने पाँच वटा संस्थानले कुनै व्यावसायिक कारोबार गर्न सकेका छैनन् ।

कानुनी रूपमा अस्तित्वमा रहे पनि व्यावसायिक कारोबार हुन नसकेका संस्थानमा बुटवल धागो कारखाना लिमिटेड, नेसनल कन्स्ट्रक्सन कम्पनी लिमिटेड र नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेडलगायत छन् । विसं २०४९ देखि सार्वजनिक संस्थान निजीकरण गर्न थालिएकोमा हालसम्म ३० वटा संस्थान निजीकरण भइसकेका छन् । पहिलो चरणमा भृकुटी कागज कारखाना, हरिसिद्धि इँटा टायल कारखाना र बाँसबारी छाला जुत्ता कारखाना निजीकरण गरिएका थिए । निजीकरण गरिएका ३० संस्थानमध्ये १२ वटा खारेज भइसकेका छन् ।

कुल राजस्वमा करिब दुई प्रतिशत योगदान गर्ने सार्वजनिक संस्थानहरू पुरानो व्यवस्थापन प्रणाली, कमजोर प्रतिस्पर्धी क्षमता, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र नवप्रवर्तनको अभावजस्ता समस्याबाट प्रभावित छन् । त्यसैले बन्द तथा कमजोर अवस्थामा रहेका उद्योगको पुनरुत्थानसँगै सञ्चालनमा रहेका सार्वजनिक संस्थानको व्यवस्थापन सुधार, व्यावसायिकता र प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा समेत ध्यान दिन आवश्यक छ । हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनलाई उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनाको बृहत्तर योजनासँग जोडेर अघि बढाउन सके यसको पुनरुत्थान अर्थपूर्ण बन्न सक्छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेलाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine Hosts Allies in Kyiv Amid Push for Air Defense Aid

Gaza’s Healthcare System Collapses, Leaving Vulnerable Populations Without Access

Hiroshima, Nagasaki, and a Soviet Spy: Three Events That Shifted World Power in August 1945

एमालेलाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भारत लैजाँदै गरेको अवस्थामा १५ किलो चरेस र अफिमसहित पाँच महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu