लमजुङ । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षाअनुसार पार्टीको नीति, विचार, कार्यशैली तथा संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्।
नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको १३औँ बैठकलाई सोमबार बेँसीसहर नगरपालिका–८ स्थित मदन–आश्रित स्मृति भवनमा सम्बोधन गर्दै गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन आवश्यक पुनर्गठन र सुधारको खाँचो औँल्याए।
उनले पार्टी संगठनलाई जनतासँग अझ मजबुत रूपमा जोड्दै कार्यकर्तालाई सक्रिय, जिम्मेवार र प्रभावकारी ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिए। बदलिँदो राजनीतिक परिवेश र जनताका अपेक्षालाई सम्बोधन गर्न पार्टीको कार्यशैलीमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।
गुरुङले पार्टीका गतिविधि जनताका समस्या, आवश्यकता र सरोकारसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने धारणा राखे।
बैठकमा एमाले केन्द्रीय सचिव खगराज अधिकारीले जनताको चाहना र अपेक्षाअनुसार पार्टी निर्माण गर्नुपर्ने बताए। पार्टीभित्र भएका गल्ती र कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै उनले विगतको समीक्षा गर्दै संगठनलाई थप जनमुखी, सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार ढङ्गले संगठन सुदृढीकरण अभियानमा जुट्नुपर्ने बताए।
एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जमिन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पनि पार्टी संगठनलाई थप व्यवस्थित, चलायमान र जनमुखी बनाउनुपर्ने धारणा राखे। पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा जनस्तरसम्म पुर्याउनुपर्ने उनीहरूको भनाइ थियो।
बैठकमा जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षमा जिल्ला कमिटीबाट सञ्चालन भएका कार्यक्रम र गतिविधिको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम, संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनका विषयमा समेत जानकारी गराए।
बैठकसँगै ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्