कपिलवस्तु । नेपालबाट भारततर्फ लागुऔषध लैजाँदै गरेको अवस्थामा कपिलवस्तु प्रहरीले पाँच महिलालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १५ किलोभन्दा बढी चरेस र अफिम बरामद गरिएको प्रहरीले जनाएको छ।
कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच महिलामाथि शंका लागेपछि जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको हो।
प्रहरीका अनुसार पक्राउ परेका महिलाको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम तथा अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद गरिएको छ। उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा दाङकी रजिता रोकाय र विमला पुन, कपिलवस्तुकी पनिसरा सारु र नन्सरी घर्ती मगर तथा पर्साकी चुमा लामिछाने रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेका पाँचै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
बरामद गरिएका पदार्थको परीक्षण गर्नुका साथै घटनामा अन्य व्यक्ति वा संगठित सञ्जालको संलग्नता रहेको हुन सक्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्