काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टीकापुर घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, अर्थात् लाल आयोगको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
आयोग गठन भएको करिब एक दशक पुग्न लाग्दासमेत प्रतिवेदन सार्वजनिक नगरिँदा टीकापुर घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको थापाको भनाइ छ।
सोमबार भदौ ८ गते सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिनु दुःखद भएको बताएका हुन्।
“२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग)ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन सकेको छैन र पीडितहरू न्याय पाउनबाट वञ्चित छन्,” थापाले लेखेका छन्।
विगतका सरकारहरूले पनि प्रतिवेदन सार्वजनिक नगरेको उल्लेख गर्दै उनले अघिल्ला सरकारको कमजोरीलाई वर्तमान सरकारले पनि प्रतिवेदन गोप्य राखिरहने आधार बनाउन नहुने बताएका छन्।
“विगतका सरकारबाट पनि यो काम हुन सकेन । तर, विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन, बन्नु हुँदैन,” उनले भनेका छन्, “यसपटक यो विषय प्रतिबद्धतामा मात्र सीमित नहोस्।”
थापाले न्याय पाउनु पीडितहरूको अधिकार भएको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गर्न सरकारले थप ढिलाइ गर्न नहुनेमा जोड दिएका छन्।
राजनीतिक दलहरूले सरकारमा जानुअघि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ छ।
टीकापुर घटनाको सत्यतथ्य, त्यससँग जोडिएका राजनीतिक तथा सामाजिक पृष्ठभूमि र घटनापछिको न्यायिक प्रक्रियाबारे लामो समयदेखि प्रश्न उठिरहेका बेला कांग्रेस सभापति थापाले फेरि एकपटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागलाई राजनीतिक बहसको केन्द्रमा ल्याएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्