काठमाडौं । दक्षिण कोरियाबाट नेपाल आएको ४४ सदस्यीय कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) ले सम्पर्कविहीनहरूको खोजीलाई तीव्रता दिन नुवाकोटको बट्टारमा बेसक्याम्प स्थापना गर्ने भएको छ।
यसअघि विदुरमा बेसक्याम्प बनाउने तयारी गरिएको थियो। तर खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन टोलीले बुधबार नै बट्टार सर्ने निर्णय गरेको हो।
बट्टारलाई आधार क्षेत्र बनाएर केडीआरटीले रसुवा तथा आसपासका क्षेत्रमा सम्पर्कविहीनहरूको खोजी गर्नेछ। विशेषगरी बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा सम्पर्कविहीन रहेका दक्षिण कोरियाली नागरिकसहित अन्य व्यक्तिको खोजीलाई प्राथमिकता दिइनेछ।
नेपाल सरकारको अनुरोधपछि दक्षिण कोरियाली सरकारले केडीआरटी नेपाल पठाएको हो। टोली बुधबार बिहान दक्षिण कोरियाली वायुसेनाको केसी–३३० ‘सिग्नस’ विमानबाट काठमाडौं आइपुगेको थियो। विमान बिहान ६ः२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
टोलीको नेतृत्व दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयअन्तर्गत विकास सहयोगका महानिर्देशक ली क्यु–होले गरेका छन्। टोलीमा राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ जना कर्मचारी तथा परराष्ट्र मन्त्रालय र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) का अधिकारी छन्।
केडीआरटीले खोज तथा उद्धारका लागि पाँचवटा तालिमप्राप्त कुकुर, उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडिओ पत्ता लगाउने उपकरण र थर्मल इमेजिङ उपकरणलगायत अत्याधुनिक सामग्री ल्याएको छ। टोलीले करिब १० दिन नेपालमा रहेर नेपाली अधिकारीसँगको समन्वयमा खोज तथा उद्धार गर्नेछ। आवश्यकता परे अवधि थप गर्न सकिने दक्षिण कोरियाली पक्षले जनाएको छ।
भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनामध्ये कोरियाली लगानीमा निर्माण भइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। बाढीका बेला आयोजनामा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिकसमेत अझै सम्पर्कविहीन रहेको दक्षिण कोरियाली विदेश मन्त्रालयले जनाएको छ।
आयोजनामा काम गर्ने कर्मचारी, परामर्शदाता र ठेकेदार कम्पनीका कामदार गरी ठूलो संख्यामा मानिस हराइरहेका छन्। तीमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने कामदार रहेको बताइएको छ। उनीहरू बाढी आउँदा सुरुङभित्र थिए वा प्रवेश गर्ने क्रममा थिए भन्ने विषयमा अझै यकिन हुन सकेको छैन।
बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा ठूलो मात्रामा लेदो र भग्नावशेष थुप्रिएकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। दक्षिण कोरियाली टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै नेपाली उद्धार टोलीसँग संयुक्त रूपमा खोजी अघि बढाउनेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्