काठमाडौँ । शिक्षिका तुलसी क्षत्रीको जीवन त्यतिबेला संकटमा पर्छ, जब उनकी छोरी अंकिताकी साथी सिसिलियाको रहस्यमय ढङ्गले मृत्यु हुन्छ। बुवा पोखरामा रहेकाले आमा–छोरी मात्रै बस्दै आएका छन् र उनीहरूबीचको सम्बन्ध पनि सहज छैन। सिसिलियाको मृत्युपछि अंकिता कानुनी फन्दामा पर्ने डरले तुलसीले छोरीलाई जोगाउन गर्ने संघर्ष नै चलचित्र ‘मास्टर्नी’को मुख्य कथावस्तु हो।
शुभेन्दु घोष निर्देशित ‘मास्टर्नी’ क्राइम थ्रिलर जनरामा आधारित चलचित्र हो। तुलसी शिक्षिका हुन् भने उनकी छोरी अंकिता लोकसेवाको तयारी गरिरहेकी छन्। उनका श्रीमान् पोखरामा सर्जनका रूपमा कार्यरत छन्। आमा–छोरीबीचको तनावपूर्ण सम्बन्धकै बीच अंकिताको भेट सिसिलियासँग हुन्छ।
सिसिलिया ड्रगिस्ट तथा लेस्बियन युवती हुन्। उनीहरूबीच मित्रता बढ्दै जाँदा सिसिलियाले अंकितालाई मन पराउन थाल्छिन्। तर अंकिता भने आफ्नो जीवनलाई फरक ढङ्गले अघि बढाउन चाहन्छिन्।
कथाले त्यतिबेला अप्रत्याशित मोड लिन्छ, जब सिसिलिया अंकिताको घरमा आएर उनलाई जबरजस्ती चुम्बन गर्न खोज्छिन्। सो क्रममा लडेर गम्भीर घाइते भएकी सिसिलियाको मृत्यु हुन्छ। मृतक चर्चित नेता महेश कुमार शर्माकी छोरी भएकाले घटना झन् जटिल बन्छ। तुलसीको महेशसँग पुरानो दुश्मनीसमेत रहेकाले छोरीलाई कानुनी संकटबाट जोगाउनु उनका लागि ठूलो चुनौती बन्छ।
चलचित्रको पहिलो भाग केही सुस्त र अनावश्यक रूपमा तन्किएको महसुस हुन्छ। निर्देशकले पात्र स्थापित गर्न धेरै समय खर्चिएका छन्, जसका कारण कतिपय संवाद बोझिला लाग्छन्। मध्यान्तरपछि भने कथाले गति समाउँछ र घटनाक्रमले दर्शकमा ‘अब के हुन्छ?’ भन्ने कौतूहल बढाउँछ।
अंकिताले सिसिलियाको घटनाबारे आमालाई सुनाउँदा डर र तनाव देखाउने दृश्यमा क्लोजअपको प्रयोग गरिएको छ। तर कतिपय दृश्यमा कलाकारको अभिनयभन्दा निर्देशन र प्रस्तुतिले भावनात्मक प्रभाव कमजोर बनाएको देखिन्छ। तुलसीको आर्थिक अवस्था देखाउन तरकारी पसल तथा भिण्डी तौलिएको दृश्य राखिए पनि घरको साजसज्जाले त्यसलाई पूर्ण रूपमा पुष्टि गर्दैन।
कलाकारतर्फ प्रियङ्काको अभिनयले तुलसीको चरित्रलाई विश्वसनीय बनाएको छ। सिम्रन खड्का र रक्षा थापाले पनि राम्रो अभिनय गरेका छन्। आर्यन सिग्देलको अभिनय स्वाभाविक छ, यद्यपि उनको चरित्रमा प्रयोग गरिएको कालो चस्माले अनुहारको भाव अभिव्यक्तिमा केही सीमा ल्याएको देखिन्छ।
फिल्मको कथावस्तु पूर्ण रूपमा नयाँ भने होइन। यसअघि पनि आमाले आफ्ना सन्तानलाई कानुनी संकटबाट जोगाउने कथामा चलचित्र बनेका छन्। त्यसको तुलनामा ‘मास्टर्नी’ औसत देखिए पनि क्लाइमेक्स भने यसको बलियो पक्ष हो। अन्तिम भागले दर्शकलाई केही हदसम्म आश्चर्यमा पार्छ।
चलचित्रमा एउटा मात्र गीत समावेश गरिएको छ, जुन कथाको गम्भीरताका हिसाबले सकारात्मक पक्ष मान्न सकिन्छ। तर सिनेम्याटोग्राफीमा खासै नयाँपन देखिँदैन। प्रप्स तथा दृश्यको सूक्ष्मतामा पर्याप्त ध्यान नदिँदा केही ठाउँमा कथाको विश्वसनीयता कमजोर भएको छ।
क्राइम थ्रिलरसँगै चलचित्रले वर्तमान राजनीतिको विकृत रूपलाई पनि प्रस्तुत गर्न खोजेको छ। पीडितको नाममा हुने स्वार्थ प्रेरित राजनीति र त्यसबाट उत्पन्न हुने शक्ति संघर्षलाई कथामा समेटिएको छ। यद्यपि केही प्रसङ्गलाई अझ स्वाभाविक र प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सकिने ठाउँ देखिन्छ।
समग्रमा ‘मास्टर्नी’ आमाले छोरीलाई कानुनी संकटबाट जोगाउन गर्ने संघर्षमा केन्द्रित क्राइम थ्रिलर हो। कमजोर सुरुवात, केही अस्वाभाविक दृश्य र निर्देशनका कमजोरीका बाबजुद मध्यान्तरपछि बढ्ने गति र अप्रत्याशित क्लाइमेक्सले चलचित्रलाई सम्हालेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्