काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको घर खानतलासी गर्नुको कारणबारे २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले सोमबार प्रसाईँकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो।
सर्वोच्चले प्रसाईँको घर खानतलासीका क्रममा बरामद भएका सामानसहित अदालतमा उपस्थित हुन पनि प्रहरीलाई आदेश दिएको छ।
प्रहरीले भदौ ४ गते प्रसाईँको घरमा खानतलासी गरेको थियो। सो क्रममा बरामद गरिएका सामान पेसीका दिन अदालतमा पेस गर्न भक्तपुर प्रहरीलाई सर्वोच्चले निर्देशन दिएको हो।
उमा प्रसाईंले आफ्ना पति दुर्गा प्रसाईँलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्। निवेदनमाथिको सुनुवाइका क्रममा अदालतले प्रहरीसँग खानतलासीको कारण र त्यसक्रममा बरामद भएका सामग्रीबारे स्पष्टीकरण मागेको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्