काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि नौ सिटसम्मका निजी सवारीसाधनका लागि खुला गरिएको छ ।
एक महिनाअघि उद्घाटन गरिएको सुरुङमार्गमा यसअघि आपत्कालीन सवारीलाई मात्र आवागमनको अनुमति दिइएको थियो । सोमबार बिहान ९ बजेदेखि कार, जीप, भ्यानलगायत नौजनासम्म यात्रु क्षमता भएका निजी सवारीलाई परीक्षणका रूपमा सुरुङमार्ग प्रयोग गर्न दिइएको हो ।
नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी नम्बर प्लेटका सवारी तथा नौ सिटसम्मका निजी सवारीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग प्रयोग गर्न दिइएको छ ।
परीक्षणका क्रममा चालकले सुरुङमार्ग प्रयोग गर्दा भोगेका समस्या तथा अनुभव संकलन गरिने श्रेष्ठले बताए । त्यसपछि अन्य सवारीसाधनलाई पनि क्रमशः सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी छ ।
हाललाई निजी सवारीसाधनलाई सुरुङ प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने जनाइएको छ ।
सुरुङमार्गभित्र सवारी चलाउँदा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गति लिन पाइने छैन । सवारीको हेडलाइट अनिवार्य बाल्नुपर्ने, टनेलभित्र गाडी रोक्न नपाइने र ओभरटेक गर्न नपाइने नियम तोकिएको छ ।
पैदलयात्री, दुईपांग्रे सवारी, डिजेल तथा पेट्रोललगायत प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारीलाई भने सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ ।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । शिलान्यास भएको सात वर्षपछि गत साउन ११ गते यसको उद्घाटन गरिएको थियो ।
मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर तथा आपत्कालीन सुरुङको लम्बाइ २.५५७ किलोमिटर रहेको छ ।
नियमित सञ्चालनमा आएपछि सुरुङ प्रयोग गरेबापत सवारीको प्रकारअनुसार शुल्क लाग्नेछ । सरकारले कार तथा भ्यानलाई काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
त्यस्तै, मिनिबस तथा टिपरले भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । हेभी ट्रकका लागि भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यसैबीच, सोमबार बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटोसमेत सञ्चालनमा ल्याइएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्