ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्समा इतिहास रचेको ‘तिनीहरू’ अब नेपालमा, निर्माता भन्छन्– ‘यो केवल तेस्रोलिंगीको कथा होइन’


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ३५   बजे

काठमाडौँ । विश्वप्रतिष्ठित कान्स फिल्म महोत्सवमा इतिहास रच्न सफल नेपाली चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ भदौ १९ गतेदेखि नेपालभर प्रदर्शनमा आउने भएको छ। कान्सलगायत विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रशंसा बटुलेको यस चलचित्रलाई लिएर नेपाली दर्शकमाझ उत्सुकता बढिरहेका बेला निर्माणपक्षले फिल्मको कथावस्तु केवल तेस्रोलिंगी समुदायमा सीमित नभएको स्पष्ट पारेको छ।

चलचित्रको ट्रेलरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका पात्रहरू प्रमुख रूपमा देखिए पनि फिल्मको मूल कथा र भावनालाई केवल ‘तेस्रोलिंगीको कथा’ भनेर बुझ्नु अपूर्ण हुने निर्माता अनुप पौडेलको भनाइ छ।

उनका अनुसार चलचित्रको केन्द्रमा पिरती नामकी एक महिला पात्र छिन्, जो लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसँग सम्बन्धित छिन्। उनी आफ्नो समुदाय, व्यक्तिगत जीवन र हराएकी छोरीबीचको संघर्षबाट गुज्रिरहेकी छन्।

‘यो चलचित्र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायभित्रका पात्रहरूको कथा हो, तर यसलाई केवल तेस्रोलिंगीको कथा भनेर बुझ्दा फिल्मको अर्थ साँघुरो हुन सक्छ,’ निर्माता पौडेलले भने, ‘केन्द्रमा पिरती छिन्। उनी आफ्नो समुदाय, आफ्नी छोरी र आफूले चाहेको जीवनबीच संघर्ष गरिरहेकी छन्।’

मूल कथा आमा र हराएकी छोरीको

निर्माता पौडेलका अनुसार फिल्मको सबैभन्दा महत्वपूर्ण पक्ष आमा र छोरीबीचको सम्बन्ध हो।

उनले भने, ‘मूलतः हाम्रो फिल्म आमा र छोरीको सम्बन्धको कथा हो। एउटी आमाले आफ्नी हराएकी छोरीलाई खोज्न कति टाढासम्म पुग्न सक्छिन् र त्यसक्रममा उनले कस्ता संघर्ष सामना गर्छिन् भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको छ।’

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायसँग सम्बन्धित हुनु पिरतीको पहिचानको एउटा महत्वपूर्ण पक्ष भए पनि उनको सम्पूर्ण जीवन र अनुभवलाई त्यही एउटा पहिचानमा सीमित गर्न नहुने पौडेलको भनाइ छ।

‘पिरतीको पहिचानको एउटा पाटो उनी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी सदस्य हुनु हो,’ उनले भने, ‘तर पिरती र अन्य पात्रका अनुभवलाई त्यतिमै सीमित गरियो भने फिल्मले भन्न खोजेको ठूलो कुरा हराउन सक्छ।’

प्रेम, मातृत्व र परिवारको कथा

निर्माणपक्षका अनुसार ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ मूलतः परिवार, सम्बन्ध, प्रेम र मातृत्वको कथा हो। चलचित्रले समाजले प्रेम र परिवारका लागि निर्माण गरेका परम्परागत सीमामाथि प्रश्न उठाउने प्रयास गरेको बताइएको छ।

फिल्ममा आमाको माया, सन्तानप्रतिको समर्पण र आफ्नो परिवार जोगाउन गरिने संघर्षलाई कुनै एउटा लैंगिक पहिचानभित्र सीमित नगरिएको निर्माणपक्षको भनाइ छ।

‘यो समुदाय चलचित्रको महत्वपूर्ण हिस्सा हो,’ पौडेलले भने, ‘तर कथा त्यतिमै सीमित छैन। मुख्य पात्रहरू उक्त समुदायबाट भए पनि चलचित्रमा विभिन्न समुदाय र फरक पृष्ठभूमिका पात्रहरूको जीवनसमेत जोडिएको छ।’

जंगली हात्तीको आतंकबीच अल्पसंख्यक समुदायको जीवन

अविनाश विक्रम शाहको निर्देशनमा बनेको ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवनसँग जोडिएको कथामा आधारित छ।

चलचित्रको पटकथा पनि निर्देशक शाहकै रहेको छ भने कथामा अविनाश विक्रम शाह र सन्दीप बादलको सहकार्य छ।

फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।

कान्सदेखि नेपालसम्मको यात्रा

अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रशंसा बटुलेको यस चलचित्रले कान्स फिल्म महोत्सवमा जुरी च्वाइस अवार्ड प्राप्त गरेपछि नेपाली चलचित्र क्षेत्रमा विशेष चर्चा पाएको थियो।

अब अन्तर्राष्ट्रिय महोत्सवको यात्रा पार गर्दै चलचित्र घरेलु दर्शकमाझ आउन लागेको हो। निर्माणपक्षले नेपाली दर्शकले फिल्मलाई केवल एउटा समुदायको कथाका रूपमा नभई परिवार, प्रेम, मातृत्व, पहिचान र संघर्षको व्यापक मानवीय कथाका रूपमा बुझ्ने अपेक्षा गरेको छ।

पाँच देशको सहकार्यमा निर्माण

‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाहरूको सहकार्यमा निर्माण भएको चलचित्र हो।

नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स चलचित्रका निर्माता हुन्।

प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लियोनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल सहनिर्माताका रूपमा रहेका छन्।

चार्ल्स अडिनेट चलचित्रका लाइन प्रोड्युसर हुन् भने अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माताका रूपमा जोडिएका छन्।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ, आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स पनि निर्माण टिममा आबद्ध छन्।

कान्समा चर्चा बटुलेको नेपाली चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ अब भदौ १९ गतेदेखि नेपाली दर्शकको परीक्षामा उत्रिँदैछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

‘झ्याम पारम्’ को धमाका : युट्युबमा एक करोड भ्युज, टिकटकमा १० लाखभन्दा बढी भिडियो

बक्सअफिसमा ‘गौँथली’को दबदबा, साढे २५ करोड नाघ्यो कमाइ

तिशा शाक्य मिस नेवाः नेपालको विजेता

बेनीमा युवाले जोगाउँदै नेवार समुदायको मौलिक ‘घोडा नाच’

तिशा शाक्य बनिन् ‘मिस नेवाः नेपाल ११४६’

तीज गीत ‘आँशु बरर…’ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu