काठमाडौँ । पछिल्लो समय चर्चाको शिखरमा रहेको गीत ‘झ्याम पारम्’ ले युट्युबमा एक करोड पटक हेरिने कीर्तिमान बनाएको छ। सामाजिक सञ्जाल टिकटकमा समेत गीतको लोकप्रियता व्यापक देखिएको छ, जहाँ यस गीतमा १० लाखभन्दा बढी भिडियो बनिसकेका छन्।
गायक रामकृष्ण ढकालको लगानीमा निर्माण भएको चलचित्र ‘मालती मंगले’ मा समावेश यस गीतमा ढकालसँगै गायिका मेलिना राईको स्वर रहेको छ। गीतकार राजेन्द्र थापाको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको गीतले बालबालिकादेखि वृद्धसम्मलाई नचाउन सफल भएको छ।
गीतले छोटो समयमै पाएको व्यापक सफलताप्रति गायक तथा निर्माता ढकालले खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले गीत निर्माणमा संलग्न सम्पूर्ण टिम तथा दर्शक–स्रोतालाई धन्यवाद दिएका छन्।
छ वर्षअघि बनेको थियो गीत
ढकालका अनुसार अहिले सर्वाधिक चर्चामा रहेको ‘झ्याम पारम्’ नयाँ गीत भने होइन। यो गीत करिब छ वर्षअघि नै तयार भएको थियो। तर विभिन्न चलचित्रका लागि प्रस्ताव गरिए पनि अन्ततः कुनै फिल्ममा समावेश हुन सकेको थिएन।
“धेरैले पटक–पटक लिएर पनि पछि हटाउनुभयो,” ढकालले गीतको पृष्ठभूमि सम्झँदै बताएका छन्।
लामो समयसम्म उचित स्थान नपाएको यही गीत आज दर्शक र श्रोताको मन जित्दै एक करोड भ्युजसम्म पुग्दा आफू भावुक बनेको उनले बताएका छन्।
ढकालले फेसबुकमार्फत लेखेका छन्, ‘झ्याम पारम्लाई आजको यो उचाइसम्म पुर्याउन अथक साथ र सहयोग गर्नुहुने गीतकार, संगीतकार, कलाकार तथा सम्पूर्ण झ्याम पारम् टिमप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।’
उनले दर्शक–श्रोताको माया, साथ र आशीर्वादलाई नै गीतको सबैभन्दा ठूलो उपलब्धि बताएका छन्।
गीत हिट, फिल्म भने बक्सअफिसमा कमजोर
‘मालती मंगले’ मा वर्षा राउत र विजय बराल मुख्य भूमिकामा छन्। चलचित्रको गीतले भने अप्रत्याशित सफलता हासिल गर्दै सामाजिक सञ्जालमा ठूलो चर्चा कमाएको छ।
युट्युबमा एक करोड भ्युज र टिकटकमा १० लाखभन्दा बढी भिडियो बन्नुले ‘झ्याम पारम्’ अहिलेको समयको सर्वाधिक लोकप्रिय नेपाली गीतमध्ये एक बनेको संकेत दिएको छ। तर गीतको व्यापक लोकप्रियतासँगै चलचित्रले भने बक्सअफिसमा अपेक्षाअनुसारको व्यापार गर्न नसकेको बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्