काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारशमणि गेलालले कोसी नदीको कटानका कारण विस्थापित भएका नागरिकको समस्या सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गेलालले कोसी कटानबाट विस्थापित परिवारको विषय आफूले १५ दिनअघि नै संसद्मा उठाएको भए पनि अहिलेसम्म प्रभावकारी सुनुवाइ नभएको बताएका हुन्।
उनले पीडित नागरिकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन आफू कुन मन्त्रालयमा गएर कुन मन्त्रीलाई भेट्नुपर्ने हो भन्ने प्रश्न गर्दै व्यंग्यात्मक रूपमा मन्त्रीहरूलाई साष्टाङ्ग दण्डवत् गर्नसमेत तयार रहेको बताए।
“म कुन–कुन मन्त्रालयमा गएर कुन–कुन मन्त्रीलाई भेटेर साष्टाङ्ग दण्डवत् गर्नुपर्ने हो, नागरिकको तर्फबाट त्यो गर्न तयार छु,” उनले भने।
२२ परिवार विद्यालयमा आश्रित
सांसद गेलालका अनुसार कोसी नदीको कटानका कारण हालसम्म २२ परिवार विस्थापित भएका छन्। विस्थापित परिवारहरू अहिले कौशिका आधारभूत विद्यालयमा आश्रय लिएर बस्न बाध्य छन्।
उनले प्रभावित क्षेत्रको समस्या तत्काल समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गरे।
यो घटना बराह नगरपालिका अन्तर्गत उदयपुरसँग जोडिएको कोसी प्रभावित क्षेत्रमा भएको उनले जानकारी दिए।
‘धेरै मन्त्रीलाई भनें, तर सुनुवाइ भएन’
सांसद गेलालले कोसी नदीमा आवश्यक संरचना तथा ड्याम निर्माणको काम किन रोकिएको हो भन्ने प्रश्नसमेत उठाएका छन्। प्रभावित नागरिकका लागि प्रधानमन्त्री नै अन्तिम भरोसाको केन्द्र रहेको उल्लेख गर्दै उनले विभिन्न मन्त्री र प्रधानमन्त्रीको कार्यालयको समेत ध्यानाकर्षण गराएको बताए।
“मैले धेरै मन्त्रीसँग मौखिक रूपमा ध्यानाकर्षण गराएँ, तर सुनुवाइ हुन सकेन,” उनले भने, “प्रधानमन्त्रीको कार्यालयमा समेत पत्र दर्ता गराएको छु।”
कोसी कटानका कारण नागरिक विस्थापित भइरहेका बेला सरकारका सम्बन्धित निकायबाट तत्काल पहल हुन नसकेको भन्दै सांसद गेलालले प्रभावित परिवारको सुरक्षित बसोबास र दीर्घकालीन समाधानका लागि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्