काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको अनुसन्धानमूलक पुस्तक ‘सहकारीमा ठगीको जालो’ छिट्टै बजारमा आउने भएको छ। पुस्तकमा देशका विभिन्न सहकारी ठगी प्रकरण, त्यसमा देखिएको संगठित अपराध तथा राजनीतिक व्यक्तिहरूको संलग्नताका विषयमा चर्चा गरिएको बताइएको छ।
लेखक भट्टका अनुसार पुस्तकमा सहकारी क्षेत्रमा भएका ठगीका विभिन्न घटनाक्रम र त्यससँग जोडिएका व्यक्ति तथा प्रवृत्तिमाथि अध्ययन गरिएको छ। पुस्तकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने, नेपाली कांग्रेसका नेता धनराज गुरुङलगायत विभिन्न व्यक्ति र सहकारी ठगीसँग सम्बन्धित विषयहरू समेटिएको जनाइएको छ।
भट्टले भुँडी पुराण प्रकाशनमार्फत पुस्तक प्रकाशित गर्न लागेका हुन्। ३१२ पृष्ठको पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ।
पुस्तकको औपचारिक विमोचन आगामी भदौ २८ गते काठमाडौँमा गर्ने तयारी गरिएको छ।
राजनीतिक संरक्षण र संगठित ठगीमाथि केन्द्रित
‘सहकारीमा ठगीको जालो’मा सहकारी क्षेत्रमा देखिएका आर्थिक अनियमितता, बचतकर्ताको रकम हिनामिना तथा संगठित रूपमा सञ्चालन भएका ठगीका घटनालाई अनुसन्धानमूलक ढंगले प्रस्तुत गरिएको लेखक पक्षको दाबी छ।
पुस्तकले विशेषगरी सहकारी ठगीका घटनामा राजनीतिक पहुँच, संरक्षण र प्रभावको विषयलाई समेत उठाएको बताइएको छ। संगठित सहकारी ठगीमा संलग्न व्यक्ति तथा प्रवृत्तिको अध्ययन गर्दै राजनीतिक संरक्षणमा मौलाएको ठगीको जालोलाई उजागर गर्ने प्रयास गरिएको प्रकाशन पक्षले जनाएको छ।
यसअघि पनि विभिन्न कृति प्रकाशित
लेखक भट्टले यसअघि ‘नेपाल–भारत सम्बन्ध’, ‘चिनियाँ तथा भारतीय साम्राज्यवाद’ र ‘जलजला उपन्यासको समालोचना’ लगायतका कृति प्रकाशित गरिसकेका छन्।
नयाँ पुस्तकमा सहकारी संकटको राजनीतिक, आर्थिक र संगठित अपराधसँग जोडिएको पक्षलाई केन्द्रमा राखिएको बताइएको छ। नेपालको सहकारी क्षेत्रमा भएका ठूला ठगी प्रकरण र तिनमा राजनीतिक पहुँच तथा प्रभावको प्रश्न निरन्तर उठिरहेका बेला भट्टको यो पुस्तक सार्वजनिक हुन लागेको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्