काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा दुई सांसदले प्रयोग गरेका असंसदीय तथा अमर्यादित शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
सभामुख अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगर र नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सदनमा प्रयोग गरेका केही शब्द संसद्को रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।
भदौ १ गतेको प्रतिनिधिसभा बैठकमा सांसद रानामगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ लगायतका शब्द अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिएका छन्।
त्यस्तै, भदौ ३ गतेको बैठकमा एमाले नेता बादलले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ लगायतका शब्द पनि संसद्को अभिलेखबाट हटाउन निर्देशन दिइएको छ।
सभामुखको निर्देशनपछि प्रतिनिधिसभा सचिवालयले सम्बन्धित बैठकको अभिलेखबाट ती शब्द हटाउने प्रक्रिया अघि बढाउनेछ।
संसद्को बैठकमा सांसदहरूले प्रयोग गर्ने भाषा मर्यादित र संसदीय हुनुपर्ने व्यवस्था छ। असंसदीय वा अमर्यादित शब्द प्रयोग भएमा सभामुखले त्यस्ता शब्द अभिलेखबाट हटाउन निर्देशन दिन सक्ने व्यवस्था छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्