काठमाडौं । अमेरिकी सरकारले शरणका लागि आवेदन दिएका वा आवेदन प्रक्रियामा रहेका विदेशी नागरिकका दुई लाखसम्म व्यापारिक तथा पर्यटक भिसा (बी१/बी२) रद्द गर्ने तयारी गरेको छ। यो कदम कार्यान्वयन भए अमेरिकी इतिहासमै एकैपटक हुने सबैभन्दा ठूलो भिसा रद्द अभियान बन्न सक्ने बताइएको छ।
अमेरिकी विदेश मन्त्रालयका कागजात र अधिकारीहरूका अनुसार सन् २०१६ देखि २०२६ बीच जारी गरिएका केही बी१ र बी२ भिसा चरणबद्ध रूपमा रद्द गर्ने तयारी गरिएको हो। प्रक्रिया आगामी केही सातामा सुरु हुन सक्नेछ। यद्यपि, अन्तिम रूपमा कति भिसा रद्द हुने भन्ने संख्या अझै निश्चित गरिएको छैन।
विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले छोटो अवधिको भ्रमण वा व्यापारिक प्रयोजनका लागि अमेरिका प्रवेश गरेपछि स्थायी रूपमा बस्न शरण आवेदन दिने व्यक्तिको भिसा पहिचान गरी रद्द गर्न आन्तरिक सुरक्षा विभाग (डीएचएस)सँग समन्वय भइरहेको बताएका छन्।
शरण प्रणालीको दुरुपयोग गरेको आरोप
अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डोले पनि पर्यटक तथा व्यापारिक भिसामार्फत अमेरिका प्रवेश गरी त्यसलाई देशमा बसिरहने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन्। उनले शरण प्रणालीलाई आप्रवासन कानुन छल्ने माध्यम बनाउन नहुने बताएका छन्।
बी१ भिसा सामान्यतया व्यापारिक भ्रमणका लागि र बी२ भिसा पर्यटन, पारिवारिक भेटघाट वा उपचारका लागि जारी गरिन्छ। नयाँ कारबाहीमा यी भिसा लिएर अमेरिका पुगेपछि शरण मागेका व्यक्तिलाई लक्षित गरिएको छ।
भिसा रद्द हुँदैमा तत्काल निष्कासन होइन
भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्तिलाई तत्कालै अमेरिकाबाट निष्कासन गरिने भने होइन। हाल शरणसम्बन्धी मुद्दा विचाराधीन रहेका धेरै व्यक्तिको पर्यटक वा व्यापारिक आगन्तुकको हैसियत भने समाप्त हुने अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकी विदेश मन्त्रालयले पछिल्लो १८ महिनामा विभिन्न कारणले करिब एक लाख ७५ हजार भिसा रद्द गरिसकेको जनाएको छ। आपराधिक अभियोग वा दोषी ठहरिएका तथा अमेरिकी नीतिविरुद्ध सार्वजनिक रूपमा बोलेका व्यक्तिसमेत यसअघिको कारबाहीमा परेका थिए।
नयाँ अभियानको अन्तिम संख्या भने प्रक्रिया अघि बढ्दै जाँदा परिवर्तन हुन सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। सम्भावित ठूलो संख्याका कारण यो कदमले कानुनी चुनौतीसमेत सामना गर्न सक्ने बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्