जनकपुरधाम । आर्थिक मन्दीलगायतका कारणले मधेस प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्यतर्फका १ हजार ९३८ उद्योग व्यवसाय बन्द भएका छन्।
मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १ हजार ११७ गरी कुल १ हजार ९३८ उद्योग व्यवसायको लगत कट्टा गरिएको हो।
यस्तै, सोही अवधिमा प्रदेशमा ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन्। मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार पर्सामा १ हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ नयाँ उद्योग दर्ता भएका छन्।
गत आवमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन्।
वाणिज्यतर्फ ६ हजारभन्दा बढी नयाँ फर्म
वाणिज्यतर्फ २०८२/८३ मा ६ हजार १२२ वटा प्राइभेट फर्म र १८ वटा साझेदारी फर्म नयाँ दर्ता भएका छन्। सोही अवधिमा ११ हजार १४४ वटा वाणिज्य फर्म नवीकरण भएका छन्।
नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरणलगायत विभिन्न शीर्षकबाट प्रदेश सरकारले ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको मन्त्रालयका सूचना अधिकारी महतोले बताए।
आर्थिक मन्दीको असर
मन्त्रालयका अनुसार विश्वव्यापी आर्थिक तरलताको समस्या, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा कमी, पुँजीको अभाव तथा स्थानीय तहमा उद्योग दर्ता गर्ने क्रम बढ्नुका कारण प्रदेश सरकारको अभिलेखमा लगत कट्टा हुने उद्योग व्यवसायको संख्या बढेको हो।
नयाँ उद्योग दर्ता उल्लेख्य भए पनि बन्द हुने उद्योगको संख्या पनि उच्च रहेकाले मधेस प्रदेशमा उद्योग व्यवसाय सञ्चालनका लागि लगानी वातावरण, वित्तीय पहुँच र पुँजी व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्