ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिएसँगै व्यवसायीले आयातका लागि बैंकमा धमाधम प्रतितपत्र (एलसी) खोल्न थालेका छन्। चाडपर्वलाई लक्षित गरी विदेशबाट वस्तु तथा सेवा आयात बढ्न थालेपछि बैंकहरूमा ट्रस्ट रिसिप्ट (टीटी) तथा अन्य आयात कर्जाको मागसमेत बढेको बैंकरहरूले बताएका छन्।

सामान्यतया चाडपर्व आउन तीन–चार महिना अघिदेखि आयातका लागि कर्जा माग बढ्ने गर्छ। अहिले पनि एलसी खोल्ने क्रम बढ्दै गएकाले लामो समयदेखि बैंकिङ प्रणालीमा थुप्रिएको अधिक लगानीयोग्य रकम केही हदसम्म बजारमा प्रवाह हुने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ ७ गतेसम्म बैंकिङ प्रणालीमा १ खर्ब ३५ अर्ब ८७ करोड १ लाख ८० रुपैयाँ लगानीयोग्य रकम थियो। त्यसमध्ये राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत करिब १ खर्ब २६ अर्ब रुपैयाँ तानेर व्यवस्थापन गरिसकेको छ। बाँकी करिब ९० अर्ब ४१ करोड रुपैयाँ बैंकिङ प्रणालीमै रहेको छ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पछिल्लो समय आयात कर्जाको माग बढिरहेको बताए। चाडपर्व नजिकिएसँगै एलसी खोल्ने क्रम बढेको र यसले सुस्त रहेको कर्जा लगानीमा केही सुधार ल्याएको उनको भनाइ छ।

उनका अनुसार जलविद्युत् र हस्पिटालिटी क्षेत्रका नयाँ परियोजनामा समेत कर्जा प्रतिबद्धता हुन थालेका छन्।

तरलता भए पनि कर्जा विस्तार सीमित

बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि बैंकहरूको वास्तविक कर्जा विस्तार क्षमता सीमित रहेको बैंकरहरूको भनाइ छ।

सीईओ रेग्मीका अनुसार प्रणालीमा १ खर्ब ३० अर्बदेखि १ खर्ब ५० अर्ब रुपैयाँसम्म तरल सम्पत्ति भए पनि बैंकहरूको पुँजीकोषका कारण कर्जा विस्तारमा सीमा छ। तरलता बढ्दैमा बैंकले चाहेजति कर्जा प्रवाह गर्न नसक्ने उनको भनाइ छ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले पनि पर्याप्त तरलता हुँदाहुँदै कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्नुमा व्यावसायिक वातावरण कमजोर हुनु र निजी क्षेत्रमा रहेको त्रास मुख्य कारण रहेको बताए।

असार र साउनमा बैंकहरूले ऋण असुलीमा बढी जोड दिएको भन्दै अब आयातसँगै अन्य क्षेत्रमा पनि कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको उनले बताए।

व्यवसाय विस्तारमा अझै अन्योल

गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्यायका अनुसार नयाँ व्यवसाय सुरु गर्ने वा कर्जा लिने विषयमा निजी क्षेत्र अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बैंकहरूसँग कर्जा प्रवाहका लागि पर्याप्त रकम भए पनि लगानीका क्षेत्र विस्तार हुन नसक्दा ठूलो रकम प्रणालीमै थुप्रिएको बताए।

उनका अनुसार भदौ र असोज स्वाभाविक रूपमा आयात बढ्ने महिना हुन्। दसैँका लागि उपभोग्य सामग्री आयात गर्न एलसीको माग बढेसँगै आगामी महिनामा बैंकको कर्जा प्रवाहमा केही सुधार आउने अपेक्षा गरिएको छ।

विदेशी मुद्रा सञ्चिति पर्याप्त

आयात धान्न मुलुकसँग पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार जेठ मसान्तमा विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ थियो। उक्त सञ्चितिले करिब १९ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने जनाइएको छ।

प्रवक्ता पौडेलले लामो समयसम्म अधिक तरलता रहनु अर्थतन्त्रका लागि दोहोरो असर पर्ने बताए। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न अतिरिक्त लागत बेहोर्नुपर्छ भने बैंकिङ प्रणालीमा रहेको रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्दा आर्थिक वृद्धिको अवसरसमेत गुम्ने उनको भनाइ छ।

यद्यपि, तरलता अभावभन्दा पर्याप्त तरलता हुनु सकारात्मक अवस्था भएको उनले बताए। लगानीको वातावरण सुधार गरी बैंकहरूले गुणस्तरीय परियोजनामा कर्जा विस्तार गर्न सके यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

टीटी कर्जा भनेको के हो ?

ट्रस्ट रिसिप्ट (टीटी) कर्जा विदेशबाट सामान आयात गर्दा व्यवसायीलाई उपलब्ध गराइने अल्पकालीन चालुपुँजी कर्जा हो।

व्यवसायीले एलसीमार्फत विदेशबाट सामान आयात गरेपछि सामान वा आयातसम्बन्धी कागजात प्राप्त हुँदा भुक्तानी गर्नुपर्ने हुन्छ। तत्काल नगद अभाव भए बैंकले आयातित सामान वा त्यससम्बन्धी कागजातलाई आधार बनाएर भुक्तानी गरिदिन्छ र व्यवसायीलाई कर्जा उपलब्ध गराउँछ। यही कर्जालाई ट्रस्ट रिसिप्ट कर्जा भनिन्छ।

यो कर्जा मुख्यतः कच्चा पदार्थ तथा व्यापारिक वस्तु आयात गर्दा प्रयोग हुन्छ। यसको भुक्तानी अवधि बैंकको नीति तथा राष्ट्र बैंकको प्रचलित व्यवस्थाअनुसार सामान्यतया ९० देखि १२० दिनसम्म हुने गर्छ।

चाडपर्व लक्षित आयात बढ्दै जाँदा एलसी र टीटी कर्जाको माग बढ्नुले बैंकिङ प्रणालीमा थुप्रिएको रकम केही हदसम्म बजारमा जाने र आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

साउन १ गते नै मौद्रिक नीति जारी गर्न अर्थसमितिको प्रस्ताव

आर्थिक मन्दीको असर : मधेशमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द

साढे ६ वर्षपछि फ्रिक्वेन्सी अक्सन खुल्यो, ८०० मेगाहर्ज ब्यान्डमा प्रतिस्पर्धा हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu