मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक पटक–पटक समय परिवर्तन हुँदै अन्ततः एक दिनपछि सारिएको छ। सोमबार बस्ने तय भएको बैठक दलहरूबीच सहमति नजुटेपछि बस्न नसकेपछि अब मंगलबार दिउँसो ४ बजे बस्ने गरी नयाँ समय निर्धारण गरिएको छ।
मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्राचार गरेपछि उपसभामुख अपसरा चापागाईंले सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको थियो। तर निर्धारित समयमा बैठक बस्न नसकेपछि सूचना टाँस गर्दै बैठकको समय पहिले अपराह्न ५ बजे र त्यसपछि राति ८ बजेका लागि सारिएको थियो।
राति ८ बजेका लागि तय भएको बैठकमा समेत राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेपछि बैठकको समय मात्र होइन, मिति नै परिवर्तन गर्नुपरेको हो। बागमती प्रदेशसभा गठन भएयता विश्वासको मतका लागि बोलाइएको बैठक समय परिवर्तन हुँदै दिन नै सारिएको यो पहिलो घटना भएको बताइएको छ।
प्रदेशसभा सचिव रामकुमार पौडेलले सोमबार राति ८ बजे बस्ने तय भएको बैठक विशेष कारणवश सञ्चालन हुन नसकेपछि मंगलबार दिउँसो ४ बजे बस्ने गरी नयाँ मिति र समय निर्धारण गरिएको जानकारी दिनुभयो। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको समय परिवर्तन गरिएको सूचनामा उल्लेख छ।
सत्तारूढ दलभित्रकै विवादले बैठक प्रभावित
मुख्यमन्त्री थापाको विश्वासको मतसँग जोडिएको राजनीतिक समीकरणमा सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिष्ट पार्टीबीच देखिएको विवादका कारण प्रदेशसभा बैठक प्रभावित बनेको बताइएको छ।
यता नेपाली कांग्रेसले भने विश्वासको मतको विषयसँगै राप्रपा संसदीय दलभित्र उत्पन्न विवाद अदालतसम्म पुगेको उल्लेख गर्दै विचाराधीन विषयलाई प्रदेशसभाको छलफलमा प्रवेश नगराउन माग गरेको छ।
कांग्रेसले अदालतमा विचाराधीन विषयमाथि प्रदेशसभामा छलफल गर्नु संवैधानिक दृष्टिले उपयुक्त नहुने तर्क गर्दै अदालतको निर्णय नआएसम्म उक्त विषयमा प्रक्रिया अघि नबढाउन उपसभामुख चापागाईंलाई पत्र बुझाएको छ।
अब मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रक्रिया अघि बढ्छ वा दलहरूबीचको विवादले फेरि नयाँ मोड लिन्छ भन्ने चासो बढेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्