काठमाडौं । नेपालले भियतनामको दा नाङमा अगस्ट ३० देखि सेप्टेम्बर ६ सम्म हुने पिकलबल विश्वकपमा पहिलोपटक सहभागिता जनाउने भएको छ । पिकलबल संघ नेपालले मंगलबार एक कार्यक्रममार्फत विश्वकपमा सहभागी हुने टोली घोषणा गरेको हो ।
संघका अध्यक्ष सौरभ भण्डारीले नेपालको लागि यो ऐतिहासिक क्षण भएको बताए । उनले भने, “नेपालले पहिलोपटक पिकलबल विश्वकपमा सहभागिता जनाउन लागेको छ, र यसले हाम्रो देशमा यो खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।” टोली घोषणा कार्यक्रममा अध्यक्ष भण्डारीले प्रतियोगितामा सफल हुन खेलाडीलाई शुभकामना व्यक्त गरे ।
नेपालले १९–४९ वर्ष उमेर समूहको खुला र ५० वर्ष माथिको सिनियर विधामा प्रतिस्पर्धा गर्नेछ । सिनियर तर्फ हर्षसागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधानले प्रतिनिधित्व गर्ने छन् । यस्तै, खुला समूहमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्ष्या राना, सञ्जील कन्साकार र किरण खनालले प्रतिस्पर्धा गर्नेछन् ।
पिकलबल खेलको बारेमा
पिकलबल टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको मिश्रण भएको एउटा र्याकेट खेल हो । यस खेलमा प्याडल र प्वाल भएको हल्का प्लास्टिकको बल प्रयोग गरिन्छ । टेनिसको तुलनामा पिकलबल सानो कोर्टमा नेट राखेर खेलिन्छ, र यो एकल वा दुई–दुई जनाको टोली बनाएर खेल्न सकिन्छ ।
विश्वकपमा नेपालले विभिन्न देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय पिकलबल क्षेत्रमा आफ्नो उपस्थितिलाई थप मजबुद बनाउने लक्ष्य राखेको छ । संघले यो प्रतियोगिता नेपाली पिकलबल खेलको विकास र प्रवर्द्धनमा कोशेढंगु सावित हुने विश्वास व्यक्त गरेको छ ।
टोली चयन प्रक्रिया
संघले खेलाडीहरूको क्षमता, अनुभव र उमेरलाई ध्यानमा राख्दै टोलीको चयन गरेको जनाएको छ । अध्यक्ष भण्डारीले भने, “हामीले सबैभन्दा योग्य खेलाडीहरूलाई छान्नका लागि गहन छलफल गरेका हौँ ।” उनले यो टोली नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्