काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि जनकपुर बोल्ट्समा पुनः अनुबन्ध भएका छन्।
३५ वर्षीय निसमसँग जनकपुरले मंगलबार सम्झौता गरेको हो। उनले एनपीएलको पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
पहिलो सिजनमा निसमले जनकपुरका लागि ९ खेलमा २४७ रन बनाएका थिए। उनको स्ट्राइक रेट १९६ भन्दा माथि र ब्याटिङ औसत ३५ भन्दा बढी थियो। उत्कृष्ट स्ट्राइक रेटका कारण उनले एनपीएलको पहिलो सिजनको ‘बेस्ट स्ट्राइक रेट’ अवार्डसमेत जितेका थिए।
बलिङतर्फ उनले ७ विकेट लिएका थिए। क्याप खेलाडीको कोटामा जनकपुरबाट खेलेका निसम समर्थकमाझ पनि लोकप्रिय बनेका थिए।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले निसमको पुनरागमनलाई स्वागत गर्दै उनी मैदानसँगै समर्थकमाझ पनि विशेष स्थान बनाउन सफल भएको बताए।
दोस्रो सिजन पोखराबाट खेले
एनपीएलको दोस्रो सिजनमा जनकपुरसँग क्याप खेलाडीको कोटा उपलब्ध नभएपछि निसम पोखरा एभेन्जर्समा आबद्ध भएका थिए। पोखराबाट उनले ४ खेल खेल्दै एक अर्धशतकसहित ९९ रन बनाएका थिए भने ५ विकेटसमेत लिएका थिए।
यसपटक भने निसम टेस्ट कोटाअन्तर्गत जनकपुर बोल्ट्सबाट खेल्नेछन्।
न्युजिल्यान्डका अनुभवी खेलाडी
निसमले न्युजिल्यान्डका लागि १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र ११५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। पछिल्लो समय पनि उनी न्युजिल्यान्डको टी–२० टोलीमा रहँदै आएका छन्।
फ्रेन्चाइज क्रिकेटमा पनि उनको लामो अनुभव छ। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्स, पञ्जाब किङ्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलिसकेका छन्।
यस्तै, उनले लंका प्रिमियर लिग, भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, यूएईको आईएल टी–२०, पाकिस्तान सुपर लिग, साउथ अफ्रिका टी–२०, द हन्ड्रेड, बिग बास लिग तथा क्यारेबियन प्रिमियर लिगमा समेत सहभागिता जनाएका छन्।
जनकपुरलाई पहिलो सिजनको उपाधि दिलाउनु निसमको फ्रेन्चाइज क्रिकेट करियरकै पहिलो उपाधि बनेको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्