कास्की । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ।
महानगरपालिकाले माग गरेको निवेदन, प्राप्त दाबी–विरोध, संशोधन तथा आवश्यक छानबिनपछि तयार गरिएको अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी गरी ३२५ परिवार भूमिहीन कायम भएका छन्। त्यस्तै, २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्।
महानगर प्रमुख धनराज आचार्यका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ वटा निवेदन परेको थियो। दाबी–विरोध तथा संशोधन निवेदनमाथि छानबिनपछि अन्तिम विवरण तयार गरिएको हो।
वडा समितिबाट महानगरमा सिफारिस
वडा तहको सहजीकरण समितिले छानबिनपछि तयार पारेको प्रतिवेदन वडा समितिसमक्ष पेस गरेको थियो। वडा समितिले प्रतिवेदन स्वीकृत गर्दै आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ।
महानगर प्रमुख आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुमबासी परिवारको व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताए। अन्तिम विवरण टुंगो लागेसँगै महानगर कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाइने उनले जानकारी दिए।
‘वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुमबासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया निर्णायक चरणमा पुगेको छ। कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यका साथ छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा गरेका छौँ,’ आचार्यले भने।
अर्को सातादेखि स्थानान्तरणको तयारी
महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ। त्यसपछि बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासी तथा अन्य परिवारको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया अघि बढाइनेछ।
प्रक्रिया समयमै अघि बढे अर्को सातादेखि बस्ती स्थानान्तरणको काम सुरु गर्न सकिने महानगर प्रमुख आचार्यले बताए। सबै सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थित रूपमा स्थानान्तरण गर्ने उनको भनाइ छ।
बसपार्क क्षेत्रका सुकुमबासीले पनि निष्पक्ष छानबिन गरी वास्तविक सुकुमबासीको व्यवस्थापनमा सहयोग गर्ने बताएका छन्। भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकासका लागि आफूहरू बाधक नबन्ने तर बसपार्क खाली गर्नुअघि वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताए।
‘हाम्रो कारणले मात्र बसपार्क बन्न नसकेको होइन, धेरै कारण छन्। हामी बसपार्क बनाउन महानगरलाई सहयोग गर्न तयार छौँ, तर हाम्रो वैकल्पिक व्यवस्थापन पहिला हुनुपर्छ,’ गुरुङले भने।
पाँच दशकदेखि अलपत्र बसपार्क
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो। तर पाँच दशकसम्म पनि बसपार्क निर्माण हुन नसक्दा पृथ्वीचोक क्षेत्रको सडक तथा फुटपाथबाटै लामो र छोटो दूरीका बस सञ्चालन हुँदै आएका छन्।
बसपार्कका लागि छुट्याइएको जग्गामा सुकुमबासी तथा अन्य व्यक्तिको बसोबास र अतिक्रमणका कारण निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। पछिल्लो समय महानगरपालिकाले बसपार्कभित्रका व्यापारिक सटरसमेत हटाएको छ।
जग्गा खाली गरेपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना महानगरपालिकाले अघि सारेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्