बुटवल । लुम्बिनी प्रदेश सरकारका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार (भदौ ९) बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णा कुश्मा थारूलाई शपथ गराएका हुन् ।
प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार (भदौ ८) नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसीलगायत व्यक्तिहरूको विशेष उपस्थितिमा शपथ समारोह आयोजना गरिएको थियो।
मन्त्रीहरूको जिम्मेवारी
मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास र ऊर्जा, सिँचाइ तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सत्ता साझेदारी
वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्रीसहित चार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तीन र जनता समाजवादी पार्टी (जसपा), नेपालबाट दुई मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि यहाँ नेकपासँग सत्तासाझेदारी अघि बढाइएको थियो । एमाले र नेकपाका शीर्ष नेताबीच सत्तासहकार्यको सहमति भएको थियो।
लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नेकपाका १३, जसपा नेपालका पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार, जनमत पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक र एक स्वतन्त्र गरी ८३ सदस्य छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्