काठमाडौं । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले नेपाली चलचित्र ‘गौँथली’ निःशुल्क हेर्न पाउने भएका छन्। निर्माणपक्षले भदौ १० देखि २१ गतेसम्म ज्येष्ठ नागरिकका लागि निःशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको हो।
निःशुल्क टिकट लिन खल्ती एपमार्फत टिकट खरिद गर्नुपर्नेछ। टिकट खरिदमा खर्च भएको रकम प्रक्रिया पूरा भएपछि सम्बन्धित व्यक्तिको खल्ती वालेटमा फिर्ता गरिने निर्देशक डा. कपिल रिजालले जानकारी दिए।
रकम फिर्ताका लागि नागरिकताको विवरण र तस्बिर पठाउनुपर्नेछ। टिकट खरिदको कारोबार (ट्रान्जेक्सन) को स्क्रिनसट तथा ‘गौँथली’को पोस्टर वा तस्बिर पृष्ठभूमिमा देखिने गरी खिचिएको फोटो पेस गर्नुपर्ने निर्माणपक्षले जनाएको छ।
निर्माणपक्षका अनुसार योग्य प्रयोगकर्तालाई खरिद गरिएको कुल टिकट मूल्य बराबरको रकम खल्ती वालेटमा जम्मा गरिनेछ। यस अभियानका लागि खल्तीमा एक लाख रुपैयाँ अग्रिम रकम जम्मा गरिने र त्यही रकमबाट योग्य प्रयोगकर्तालाई रिफन्ड गरिनेछ।
अग्रिम रकम सकिएमा वा अभियानको अवधि सकिएमा, जुन पहिला हुन्छ, त्यही समयसम्म रिफन्ड प्रक्रिया सञ्चालन हुने जनाइएको छ।
‘गौँथली’ दोस्रो सर्वाधिक कमाउने चलचित्र
अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको ‘गौँथली’ नेपाली चलचित्रको इतिहासमा दोस्रो सर्वाधिक कमाउने चलचित्र बनेको छ। चलचित्रले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
शिक्षाको महत्त्व तथा श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रका निर्माता कपिल रिजाल र सुमन गिरी हुन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्