बागलुङ । पर्यटन प्रवर्द्धनमा फोटोग्राफीमार्फत योगदान पुर्याउँदै आएका सन्दिप शर्मा र बुटिक व्यवसायमार्फत स्वदेशी उत्पादनलाई देश–विदेशमा पुर्याउँदै आएकी सन्ध्या राजभण्डारीलाई बागलुङ जेसीजले सम्मान गरेको छ।
शर्मालाई पर्यटन क्षेत्रको प्रवर्द्धनमा फोटो तथा भिडियोमार्फत पुर्याएको योगदानका लागि सम्मान गरिएको हो भने राजभण्डारीलाई उद्यमशीलता र बुटिक व्यवसायमा हासिल गरेको सफलताका लागि सम्मान प्रदान गरिएको जेसीजले जनाएको छ।
शर्माले धौलागिरि बेसक्याम्प, अन्नपूर्ण, मकालु बेसक्याम्पलगायत नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर तस्बिर तथा भिडियो निर्माण गर्दै आएका छन्। उनले धोरपाटनलगायत पर्यटकीय गन्तव्यका आकर्षक तस्बिर विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन्।
उनले मकालु बेसक्याम्पबाट खिचेका फोटो तथा भिडियो प्रधानमन्त्री बालेन्द्र शाहले समेत आफ्नो सामाजिक सञ्जाल पेजमा पोस्ट गरेका थिए। आफ्नो काममार्फत नेपालका प्राकृतिक, भौगोलिक र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउँदै देश विकास गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश फैलाउने प्रयास गरिरहेको शर्माले बताए।
गाउँबाटै अन्तर्राष्ट्रिय बजारसम्म
त्यसैगरी, सन्ध्या राजभण्डारीले क्रियसमार्फत विभिन्न बुटिक सामग्री उत्पादन गरी देश तथा विदेशमा पठाउँदै व्यवसायलाई सफलतापूर्वक अघि बढाएकी छन्। उनले विगत एक दशकदेखि नेपाली उत्पादनलाई विदेशसम्म पुर्याउँदै आएकी छन्।
ग्रामीण क्षेत्रमै बसेर पनि अन्तर्राष्ट्रिय बजारसँग जोडिन र सफल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश आफ्नो कामबाट दिन सफल भएको राजभण्डारीको भनाइ छ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले मंगलबार आयोजित कार्यक्रममा शर्मा र राजभण्डारीलाई सम्मान प्रदान गरेका थिए। सो अवसरमा उनले उत्कृष्ट काम गर्ने युवालाई सम्मान गर्दा देश विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलताको संस्कार विस्तारमा योगदान पुग्ने बताए।
‘युवालाई अवसर दिए क्षमता देखाउँछन्’
बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले पछिल्लो समय युवा पुस्तामा देशमै केही गर्नुपर्छ भन्ने भावना बलियो बन्दै गएको बताइन्। जेनजी आन्दोलनपछि युवामा देश निर्माणप्रतिको उत्साह बढेको उल्लेख गर्दै उनले अवसर पाए युवाले आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने बताइन्।
उनले रोजगारी सिर्जना गर्ने, उद्यमशीलतामा लाग्ने र आफ्नो काममार्फत समाजमा सकारात्मक योगदान पुर्याउने युवालाई राज्यले पनि प्रोत्साहन र सम्मान गर्नुपर्ने धारणा राखिन्।
बागलुङ जेसीजले युवाको व्यक्तित्व तथा क्षमता विकास, व्यवसायिक सफलता, नेतृत्व र अनुशासनको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
वि.सं. २०३५ मा स्थापना भएको बागलुङ जेसीजले विधिको शासन, व्यवसायिक स्वतन्त्रता र व्यक्तित्व विकासका क्षेत्रमा काम गर्दै आएको छ। ‘एक वर्ष, एक व्यक्ति र एक पद’ को अवधारणासहित ४० वर्षमुनिका युवालाई नेतृत्व विकासमा जोड्दै आएको जेसीजले जनाएको छ।
जेसीज सप्ताहमा सात दिनका विविध कार्यक्रम
जेसीज सप्ताह २०२६ अन्तर्गत सात दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ। सप्ताहको दोस्रो दिन धौलागिरि क्याम्पसमा युवाका लागि मनोपरामर्श कार्यक्रम आयोजना हुनेछ।
त्यस्तै तेस्रो दिन सत्यदेवी स्मृति स्लो बाइक रेस, चौथो दिन उद्घोषण कला तालिम, पाँचौँ दिन मैत्रीपूर्ण फुटसल तथा छैटौँ दिन १२औँ अन्तरविद्यालय नृत्य प्रतियोगिता आयोजना गरिनेछ। सप्ताहको अन्तिम दिन स्वर्गीय प्रगतीकुमार श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगितासहित समापन कार्यक्रम गरिनेछ।
जेसीज सप्ताह २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षता, महासचिव स्विकृति भारीको सञ्चालन तथा उपाध्यक्ष सुलभ खड्काको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा बागलुङ जेसीजका पूर्वअध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, जेसीज लिडर्स अध्यक्ष पार्वती अधिकारी तथा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव नवराज परियारलगायतले शुभकामना व्यक्त गरेका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्