काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर शाह सुडीविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले सुडीले आफ्नो वैधानिक आम्दानीभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेको जनाएको छ।
आयोगको अनुसन्धानअनुसार, सुडीले अमिन पदमा अस्थायी नियुक्ति लिएदेखि २०८१ जेठ मसान्तसम्मको अवधिमा विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय आर्जन गरेको देखिएको छ। तर सोही अवधिमा उनको खर्च तथा विभिन्न क्षेत्रमा भएको लगानी ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा पुगेको अख्तियारको दाबी छ।
यसरी वैधानिक आयको तुलनामा ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी खर्च तथा लगानी भएको र उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
श्रीमतीलाई पनि प्रतिवादी बनाइयो
अनुसन्धानका क्रममा गैरकानूनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्तिको केही हिस्सा सुडीले आफ्नी श्रीमती सुमित्रादेवी शाहको नाममा राखेको पाइएको अख्तियारले जनाएको छ।
उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुमित्रादेवीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्। उनको नाममा रहेका घर, जग्गा तथा अन्य सम्पत्तिसमेत अनुसन्धानको दायरामा ल्याइएको बताइएको छ।
सुडी सरकारी सेवामा अमिन पदबाट प्रवेश गरेका थिए। लामो समय सार्वजनिक सेवामा रहँदा पदीय जिम्मेवारी र वैधानिक आम्दानीसँग मेल नखाने गरी अस्वाभाविक सम्पत्ति जोडेको उजुरी परेपछि अख्तियारले उनको सम्पत्ति तथा आयस्रोतबारे अनुसन्धान थालेको थियो।
अनुसन्धानपछि उनको वैधानिक आम्दानी र खर्च तथा लगानीबीच ठूलो अन्तर देखिएको अख्तियारको निष्कर्ष छ। सोही आधारमा आयोगले गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्