सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, ढुंग्रेभञ्ज्याङमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार साँझ इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०९८५ नम्बरको ट्रकले काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.८५ प ८९४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बडेश्वर गाउँपालिका–५ निवासी १९ वर्षीय राजु यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २० वर्षीय रुपेश महतो घाइते भएका छन्। उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार गरिएको भए पनि स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी प्राप्त हुन सकेको छैन।
दुर्घटनालगत्तै ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी ३९ वर्षीय केशव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्