ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ०५   बजे

काठमाडौं । विगत दुई दशकदेखि बेलायतमा बस्दै आएकी ८६ वर्षीया खगी गुरुङले नेपालमा रहेका आफ्ना छोरालाई सहयोग गर्ने उद्देश्यले ५ लाख रुपैयाँ पठाउनुभयो। तर, आमाले पठाएको त्यही रकमले छोरा चेतबहादुर गुरुङलाई राहत होइन, उल्टै गम्भीर कानुनी झमेलामा पारिदियो।

बैंकिङ प्रणालीमार्फत नभई हुण्डीको माध्यमबाट रकम पठाइएपछि चेतबहादुर कानुनी फन्दामा परेका हुन्। रकम पठाउने प्रक्रियामा संलग्न व्यक्तिले पछि त्यही पैसा वैदेशिक रोजगारीका लागि दिएको भन्दै उनीविरुद्ध ठगीको उजुरी दिएपछि घटनाले नयाँ मोड लिएको हो।

खगी गुरुङ क्यान्सरको उपचारपछि पुनः बेलायत फर्कनुभएको थियो। उपचारका क्रममा उहाँलाई नेपाल ल्याएर चितवनको भरतपुर क्यान्सर अस्पतालमा करिब चारदेखि पाँच महिना राखेर उपचार गरिएको थियो। उपचार सफल भएपछि उहाँ पुनः बेलायत फर्कनुभएको थियो।

नेपालमा भएको उपचार खर्च र परिवारलाई सहयोग गर्ने उद्देश्यले उहाँले बेलायतबाट छोरा चेतबहादुरलाई रकम पठाउने निर्णय गर्नुभयो। तर, हुण्डीमार्फत पैसा पठाउँदा त्यसले भविष्यमा छोरालाई कानुनी समस्यामा पार्न सक्छ भन्नेबारे उहाँलाई जानकारी थिएन।

५ लाख पठाएपछि कसरी सुरु भयो मुद्दा ?

खगी गुरुङले बेलायतमा रहेका एजेन्ट योगेन्द्रबहादुर साउदमाफर्त ५ लाख रुपैयाँ नेपाल पठाउने व्यवस्था मिलाउनुभएको थियो। साउदले बेलायतमा रकम बुझेपछि नेपालमा रहेका आफ्ना सम्पर्क व्यक्ति बिनोद बुढाथोकीमार्फत उक्त रकम चेतबहादुरको बैंक खातामा जम्मा गराइएको बताइएको छ।

तर, रकम खातामा जम्मा गर्ने व्यक्तिले पछि त्यही ५ लाख रुपैयाँलाई वैदेशिक रोजगारीसँग जोडेर चेतबहादुरविरुद्ध ठगीको उजुरी दिएको आरोप छ। उजुरीमा आफूले वैदेशिक रोजगारीका लागि चेतबहादुरलाई पैसा दिएको तर विदेश नपठाइएको दाबी गरिएको थियो।

आफ्नी आमाले पठाएको रकम खातामा आएको ठानेर ढुक्क रहेका चेतबहादुर त्यसबेला अचम्ममा परे, जब उनको नाममा पक्राउ पुर्जी जारी भयो।

हुण्डीमार्फत रकम आएको कारण उक्त पैसा आमाले नै पठाएको हो भन्ने प्रमाणित गर्न आवश्यक वैधानिक कागजात जुटाउनसमेत कठिनाइ भएको उनको भनाइ छ। कानुनी प्रक्रियामा अगाडि बढ्दा थुनामा बस्नुपर्ने वा बिगो तथा जरिवानाको जोखिम हुन सक्ने अवस्था देखिएपछि उनी थप दबाबमा परेका थिए।

अन्ततः मिलापत्र गर्न बाध्य

लामो कानुनी झमेलाबाट बच्न चेतबहादुर अन्ततः उजुरीकर्ता पक्षसँग मिलापत्र गर्न बाध्य भएको बताइएको छ। मिलापत्रका क्रममा उनले उजुरीकर्तालाई ५ लाख रुपैयाँ बुझाउनुपरेको थियो।

यसरी आमाले पठाएको रकम गुमाउनुका साथै उनले पुनः त्यति नै रकम बुझाउनुपरेको अवस्था सिर्जना भएको हो। घटनापछि नेपालमा रहेका रकम व्यवस्थापनमा संलग्न व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ।

चेतबहादुरले नेपाल प्रेससँग कुरा गर्दै बेलायतमा रहेकी आमाले आफ्नो भत्ताबाट आएको रकम सहयोगका लागि पठाएको तर त्यही रकमका कारण आफू समस्यामा परेको बताएका छन्।

यस्ता गुनासा बढ्दै

वैदेशिक रोजगार विभागका अनुसार विदेशबाट हुण्डीमार्फत रकम पठाउने र पछि त्यही रकमलाई वैदेशिक रोजगारीका लागि दिएको पैसा भएको दाबी गर्दै मुद्दा दर्ता गर्ने गुनासाहरू आउने गरेका छन्।

विभागको कानुन शाखाका युवराज शर्माले बेलायतमा रहेका नेपालीबाट रकम लिएर नेपालमा खातामा जम्मा गरिदिने र पछि उक्त रकम वैदेशिक रोजगारीका लागि दिएको भन्दै मुद्दा हाल्ने गुनासो बढ्दै गएको बताए।

उनका अनुसार विभागमा यस्ता घटनासम्बन्धी उजुरी आउने गरे पनि सीमित स्रोत र साधनका कारण प्रत्येक घटनाको विस्तृत अनुसन्धान गर्न चुनौती रहेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको वैदेशिक रोजगारसम्बन्धी ठगी अनुसन्धान शाखाका डीएसपी शिवराज बुढाथोकीले पनि पछिल्लो समय अन्य प्रकारका लेनदेनलाई वैदेशिक रोजगारीसम्बन्धी कारोबारका रूपमा दाबी गर्ने प्रवृत्ति देखिएको बताए।

उनका अनुसार प्रहरीले उजुरी परेपछि रकम दिने र लिनेबीचको वास्तविक सम्बन्ध तथा पीडित भनिएको व्यक्ति वास्तवमै पीडित हो वा होइन भन्ने विषयमा अध्ययन गरेर मात्र अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउने गर्दछ।

सांसदको पनि चेतावनी

यसअघि सांसद राजेन्द्र राईले संसद्मा बोल्दै बेलायत र हङकङमा रहेका नेपाली पूर्वसैनिकलाई लक्षित गरेर संगठित गिरोहले शंकास्पद गतिविधि गरिरहेको आरोप लगाएका थिए।

उनले रेमिट्यान्सका नाममा विदेशमा रकम लिने, नेपालमा विभिन्न व्यक्तिको खातामा पैसा पठाउने र त्यसपछि पुनः सोही रकमलाई अर्को प्रकृतिको कारोबारसँग जोडेर विवाद सिर्जना गर्ने गतिविधिबारे छानबिन आवश्यक रहेको बताएका थिए।

सुरक्षित माध्यम प्रयोग गर्न आग्रह

यो घटनाले विदेशबाट रकम पठाउँदा केही शुल्क बचाउने उद्देश्यले वा अज्ञानताका कारण अवैध माध्यम प्रयोग गर्दा आफ्नै परिवारका सदस्यसमेत गम्भीर कानुनी समस्यामा पर्न सक्ने जोखिम देखाएको छ।

विदेशबाट नेपाल रकम पठाउँदा बैंक तथा स्वीकृत विप्रेषण कम्पनीजस्ता वैधानिक माध्यम प्रयोग गर्नुपर्ने र प्रत्येक कारोबारको प्रमाण सुरक्षित राख्नुपर्ने सरोकारवालाको सुझाव छ।

हुण्डीमार्फत भएको कारोबारमा रकमको स्रोत र उद्देश्य प्रमाणित गर्न कठिन हुन सक्ने भएकाले यस्ता माध्यमले आर्थिक नोक्सानीसँगै कानुनी जटिलता पनि निम्त्याउन सक्ने चेतबहादुर गुरुङको घटनाले देखाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

एकैदिन ४२ दिनको हाजिरी, जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu