काठमाडौं । यस वर्ष मनसुन सुरु भएयताको ६० दिनमा नेपालमा औसतभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गत हावापानी विश्लेषण शाखाका प्रमुख सुजन सुवेदीका अनुसार असार ५ देखि भदौ १ गतेसम्म देशभर कुल ७४६ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ। सामान्य अवस्थामा यही अवधिमा ८३० दशमलव ६ मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष औसतको ८९ दशमलव ९ प्रतिशत मात्र वर्षा भएको हो।
यस आधारमा उक्त अवधिमा औसतभन्दा ८३ दशमलव ८ मिलिमिटर कम वर्षा भएको छ।
‘यस वर्षको मनसुन अवधिमा वर्षाको मात्रा औसतभन्दा कम देखिए पनि वर्षाको वितरण र स्थानअनुसारको अवस्थालाई समेत विश्लेषण गर्नुपर्ने हुन्छ,’ सुवेदीले भने।
नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुनकै अवधिमा पर्ने भएकाले मनसुनलाई महत्वपूर्ण र संवेदनशील मौसम प्रणालीका रूपमा लिइने विभागले जनाएको छ।
अधिकांश क्षेत्रमा कम वर्षाको प्रक्षेपण
जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुन अवधिमा नेपालमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको थियो।
विभागका अनुसार कर्णाली प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको अधिकांश क्षेत्र, मधेस प्रदेशको पूर्वी भूभाग तथा कोसी प्रदेशको दक्षिणी क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।
सुदूरपश्चिम प्रदेशको अधिकांश भूभाग, मधेस प्रदेशको पश्चिमी क्षेत्र तथा कोसी प्रदेशको मध्य भूभागमा औसतभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ।
कर्णाली र कोसी प्रदेशका उत्तरी क्षेत्रमा भने औसत वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। बाँकी अधिकांश क्षेत्रमा पनि औसतभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागको आकलन छ।
तापक्रम बढ्ने सम्भावना
विभागले देशका सबैजसो प्रदेशमा अधिकतम तापक्रम औसतभन्दा बढी रहने सम्भावना पनि देखाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका विभिन्न भूभागमा अधिकतम तापक्रम औसतभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।
त्यस्तै, न्यूनतम तापक्रम पनि देशभर औसतभन्दा बढी रहने विभागको प्रक्षेपण छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस र कोसी प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम औसतभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्