काठमाडौं । रसुवा जिल्लामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्य तत्काल सुरु गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई प्रभावित क्षेत्रमा परिचालन गर्न निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री शाहका अनुसार अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको छ। उहाँले विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउन तथा मेडिकल टिम, स्काउट, रेडक्रसलगायत संस्थासँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन निर्देशन दिनुभएको छ।
प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन
प्रधानमन्त्री शाहले रसुवा हुँदै तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
स्थानीयवासीलाई एसएमएस तथा फोनमार्फत जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानमा जान अलर्ट गरिएको उहाँले बताउनुभएको छ।
सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकोप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको छ। निजी हेलिकोप्टर कम्पनीहरूलाई समेत आवश्यक परेको अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी हेलिकोप्टर तयारी अवस्थामा राख्न भनिएको छ।
उच्चस्तरीय बैठक बोलाइयो
बाढीबाट उत्पन्न परिस्थितिबारे थप आवश्यक कदम चाल्न केहीबेरमै उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।
उहाँले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा उद्धारसम्बन्धी सरकारी निकायबाट जारी हुने अपडेट कुर्न आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री शाहले थप जानकारी तथा राहतसम्बन्धी सूचनाका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जानकारीसमेत दिनुभएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्