काठमाडौं । रसुवा जिल्लामा बुधबार बिहान आएको विनाशकारी बाढीले जनजीवनमा गम्भीर असर पारेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो सवा १२ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षति, जारी उद्धार अभियान तथा प्रभावित क्षेत्रको अवस्थाबारे बैठकमा विस्तृत छलफल हुने बताइएको छ।
बैठकमा बाढीपीडितको खोज तथा उद्धार, राहत व्यवस्थापन, घाइतेको उपचार र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक निर्णय गरिनेछ।
रसुवाको टिमुरे, स्याफ्रुबेँसी र आसपासका क्षेत्रमा आएको बाढीले बस्ती, सडक, पुल, भन्सार क्षेत्र तथा विद्युत् संरचनामा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका छन्। बाढीका कारण विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन तथा बेपत्ता भएको आशंका गरिए पनि विस्तृत विवरण संकलन भइरहेको छ।
प्रधानमन्त्री शाहले यसअघि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य विपद् व्यवस्थापन निकायलाई उद्धार र राहत कार्यमा परिचालन गर्न निर्देशन दिइसकेका छन्। प्रभावित क्षेत्रमा हेलिकप्टर, मेडिकल टोली तथा अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गरिएको छ।
आकस्मिक मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत सम्बन्धित निकायका अधिकारीहरूसँग बाढीबाट भएको क्षति, उद्धारको अवस्था र आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
सरकारले जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न पुनः आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्