काठमाडौं । बाढीमा परी घाइते भएकाहरूको उपचारका लागि नेपाली सेनाले त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा २० सदस्यीय मेडिकल टोली परिचालन गरेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार बुधबार बिहान उक्त मेडिकल टोलीलाई काठमाडौंबाट त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा पुर्याइएको हो।
मेडिकल टोलीमा शल्यचिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मीहरू रहेका छन्। बाढीबाट प्रभावित क्षेत्रमा घाइतेहरूको संख्या बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उपचार तथा आकस्मिक स्वास्थ्य सेवाका लागि टोलीलाई तयारी अवस्थामा राखिएको नेपाली सेनाले जनाएको छ।
“त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा २० जनाको मेडिकल टिम लगेर राखिएको छ। शल्य चिकित्सकसहितको टिम त्यहाँ राखिएको छ,” सैनिक प्रवक्ता बस्नेतले बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहँदा नेपाली सेनाले आवश्यकताअनुसार थप स्वास्थ्य तथा उद्धार टोली परिचालन गर्ने तयारी गरेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्