काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुर्याएको सडक विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण ती पुलमा क्षति पुगेको हो । बाढीले कम्तीमा ४० किलोमिटर सडकखण्डमा समेत क्षति पुर्याएको छ भने कतिपय स्थानमा सडक नै भत्किएको छ ।
क्षतिग्रस्त क्षेत्रमा सडक विभागले आवश्यकताअनुसार भारी उपकरण तथा मेसिन परिचालन गरी सडक र पुलको अवस्था सुधार गर्ने कामलाई तीव्रता दिएको न्यौपानेले बताए ।
क्षतिको विस्तृत विवरण संकलन हुँदै
बाढीबाट क्षति पुगेका १९ पुलमध्ये कति पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भन्ने यकिन विवरण भने तत्काल उपलब्ध नभएको न्यौपानेले बताए । उनले क्षति पुगेका सडकखण्डको लम्बाइ ४० किलोमिटरभन्दा बढी रहेको जानकारी दिए ।
सडक विभागले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ । क्षतिको यकिन विवरण प्राप्त भएपछि आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि कार्ययोजना बनाइने विभागको भनाइ छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्