काठमाडौं । रसुवामा आएको बाढीमा परी घाइते भएका १४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्याएको छ। हालसम्म सात जनाको शव फेला परेको छ भने बाढीमा परी कयौं घाइते भएका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसायाका अनुसार अहिलेसम्म १४ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ। उनीहरूमध्ये एक जना तीन वर्षका बालक रहेको उनले बताए।
उनका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ।
“अहिलेसम्म १४ जना घाइतेलाई ल्याइएको छ। उनीहरूमध्ये एक जना तीन वर्षको बच्चा हुनुहुन्छ। एक जनाको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार भइरहेको छ,” रोसायाले भने।
बाढी प्रभावित क्षेत्रबाट घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको छ।
यसैबीच, थप तीन जना घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार उनीहरू तीनै जना नुवाकोटका बासिन्दा हुन्।
घाइतेमध्ये दुई जना पुरुष र एक जना महिला छन्। उनीहरूको पेट, हात र कम्मरमा चोट लागेको छ। तीनै जनालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको डा. मरासिनीले जानकारी दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्