भोटेकोसी, रसुवा । रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण बाढीमा परी घाइते भएका २३ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।
उद्धार गरिएका घाइतेमध्ये २० जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। उनका अनुसार उपचाररत दुई घाइतेको अवस्था गम्भीर रहेकाले उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
त्यस्तै, तीन जना घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार तीनै जना नुवाकोटका हुन्। उनीहरूमध्ये दुई पुरुष र एक महिला रहेका छन्।
उनीहरूलाई पेट, हात र कम्मरमा चोट लागेको छ। तीनै जनालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।
उद्धार कार्य जारी
बुधबार दिउँसो साढे ४ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट २३ जना घाइतेलाई काठमाडौं ल्याइएको हो। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले थप घाइतेलाई समेत उपचारका लागि काठमाडौं ल्याउने क्रम जारी रहने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्