काठमाडौं । रसुवामा बुधबार बिहान आएको अचानकको भीषण बाढीपछि ४७७ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा ७९ सुरक्षाकर्मी, १४ भन्सार कर्मचारी र ३८४ स्वदेशी तथा विदेशी पर्यटक रहेका छन्।
बाढीले रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्याएको छ। सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेको सम्बन्धित निकायले जनाएका छन्।
७९ सुरक्षाकर्मी सम्पर्कविहीन
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार २६ जना नेपाल प्रहरी र ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। त्यस्तै, नेपाली सेनाको टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कमा आएका छैनन्।
यसरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी ७९ सुरक्षाकर्मीको अवस्था अझै अज्ञात रहेको छ।
१४ भन्सार कर्मचारीको खोजी
रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयमा कार्यरत १४ जना कर्मचारी पनि सम्पर्कविहीन रहेको अर्थ मन्त्रालयले जनाएको छ।
रसुवा भन्सारका ३६ स्थायी दरबन्दीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा छन्। चार करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएका छन्।
यसअनुसार ११ स्थायी र ३ करार तथा ज्यालादारी कर्मचारी गरी १४ जनाको खोजी भइरहेको मन्त्रालयले जनाएको छ।
३८४ पर्यटक सम्पर्कविहीन
नेपाल पर्यटन बोर्डका अनुसार बाढीपछि ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन्।
सम्पर्कविहीन विदेशी पर्यटकमध्ये १०५ जनाभन्दा बढी भारतीय नागरिक रहेको बोर्डले जनाएको छ। हराइरहेका पर्यटकको अवस्था पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय गरी विवरण संकलन भइरहेको छ।
तिब्बतबाट आएको बाढीले ठूलो क्षति
बुधबार बिहान करिब साढे ८ बजे चीनको तिब्बततर्फबाट आएको बाढी भोटेकोसी नदीमा प्रवेश गरेपछि रसुवामा ठूलो क्षति भएको हो।
बाढीले मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना, सरकारी तथा निजी संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको र सम्पर्कविहीन व्यक्ति तथा पर्यटकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको सम्बन्धित निकायले जनाएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्