रूपन्देही । तिब्बततर्फबाट आएको भीषण बाढीको प्रभाव नारायणी नदी तटीय क्षेत्रसम्म पुग्ने जोखिम बढेपछि नवलपरासीको सुस्ता गाउँ खाली गर्न थालिएको छ। स्थानीय प्रशासनले सुस्ता गाउँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई नारायणी नदी नजिकैको रामनगरस्थित शिव गंगाकुञ्ज प्राथमिक विद्यालयमा सारिएको छ।
सुस्ता गाउँमा रहेका करिब २२० घरधुरीका १ हजार ४५७ जनालाई तत्कालका लागि सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइएको छ। स्थानीयवासीलाई घरका आवश्यक सामान तथा सम्पत्ति सम्भव भएसम्म अग्लो र सुरक्षित स्थानमा सार्नसमेत आग्रह गरिएको छ।
सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारमा
स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी संयुक्त रूपमा परिचालित भएका छन्।
सुस्तामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिट कार्यालयसमेत रहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिसकेपछि सुरक्षाकर्मी तथा कार्यालयका आवश्यक सामग्रीलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी नेपालले बताएका छन्।
प्रतापपुर र सुस्ताका अन्य बस्तीमा पनि उच्च सतर्कता
प्रशासनले नारायणी नदी आसपासका प्रतापपुर र सुस्ता गाउँपालिकाका अन्य जोखिमयुक्त बस्तीमा समेत बाढी पस्न सक्ने सम्भावना रहेको भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीको बहाव र जलस्तरको निरन्तर निगरानी भइरहेको जनाउँदै प्रशासनले आवश्यक परे अन्य तटीय बस्तीबाट पनि स्थानीयवासीलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी गरिएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्