नुवाकोट । बुधबार बिहान आएको विनाशकारी बाढीले नुवाकोटको भोटेकोशी वडा नम्बर ५ मा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा समेत क्षति पुर्याएको छ। विद्यालयमा अध्ययनरत **१ हजार ६ सय ४३ जना विद्यार्थीमध्ये ठूलो सङ्ख्याका विद्यार्थीको अवस्थाबारे तत्काल यकिन हुन नसक्दा विद्यालय प्रशासन र अभिभावकहरू चिन्तामा परेका छन्।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बिहानको नियमित प्रार्थना कार्यक्रम सकिएलगत्तै बाढी आउँदै गरेको सूचना प्राप्त भएको थियो। सूचना पाउनासाथ विद्यालय प्रशासनले विद्यार्थीलाई तत्काल सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको थियो।
‘सबै विद्यार्थीहरू निस्किएपछि सबैभन्दा पछि म भागेको हुँ,’ प्रधानाध्यापक दवाडीले भने।
तर, विद्यालयबाट बाहिरिएपछि विद्यार्थीहरू विभिन्न दिशामा लागेकाले अहिले उनीहरूको अवस्थाबारे एकीकृत विवरण प्राप्त हुन सकेको छैन।
कोही घरतिर, कोही डाँडातिर, केहीलाई बसमा उद्धार
बाढीको त्रास फैलिएका बेला विद्यार्थीहरू आ–आफ्नो सुरक्षित स्थान खोज्दै विभिन्न दिशातर्फ गएका थिए। कतिपय विद्यार्थी घरपरिवार खोज्दै घरतर्फ लागे भने केही माथिल्लो सुरक्षित भूभागतर्फ उक्लिएका थिए।
विद्यालय प्रशासनले उपलब्ध बस प्रयोग गरी केही विद्यार्थीलाई खोलापारिको सुरक्षित स्थानमा पुर्याएको जनाएको छ। तर, धेरै विद्यार्थी आफैँ भागेर विभिन्न दिशामा गएकाले उनीहरूसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको प्रधानाध्यापक दवाडीले बताए।
‘कोही आफ्ना घरपरिवारतिर गएका छन्, कोही माथितिर उक्लिएका छन्,’ उनले भने, ‘हामीले विद्यालयको बसमा केही विद्यार्थीलाई खोला पारी सुरक्षित स्थानमा पुर्यायौं, तर कतिपय आफैँ भागेर हिँडेका छन्।’
हाल प्रधानाध्यापकको सम्पर्कमा करिब ७० जना विद्यार्थी मात्र रहेको बताइएको छ। तीमध्ये अधिकांश विद्यालयको छात्रा छात्रावासमा बस्ने विद्यार्थी रहेको उनको भनाइ छ।
विद्यार्थी बचाउँदा आफ्नै ज्यान जोखिममा
प्रधानाध्यापक दवाडीका अनुसार बाढीको तीव्रता र भागदौडबीच विद्यार्थीलाई सुरक्षित स्थानमा पुर्याउने क्रममा आफ्नो ज्यानसमेत जोखिममा परेको थियो।
‘उनीहरूलाई बचाउने क्रममा मेरो ज्यान नै जाने जस्तो भएको थियो,’ उनले भने।
उनका अनुसार डाँडातिर र माथिल्लो भूभागमा उक्लिएका अधिकांश विद्यार्थी सुरक्षित रहेको अनुमान छ। तर, त्रिशूली पुल पार गरेर बट्टार–विदुर बजारतर्फ गएका विद्यार्थीहरूको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।
यस कारण विद्यालय प्रशासनले अहिले विद्यार्थीहरूको विवरण संकलन, सम्पर्क स्थापना र सुरक्षित स्थानमा पुगेकाहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ।
सुरक्षित स्थानमा पुगे पनि खानपिन र सञ्चारको संकट
बाढीबाट जोगिएर प्रधानाध्यापक, विद्यार्थी र केही कर्मचारी अहिले स्थानीय रूपमा सुरक्षित मानिएको स्थानमा बसिरहेका छन्। तर, सुरक्षित स्थानमा पुगेपछि अर्को समस्या सुरु भएको छ—सञ्चार सम्पर्क र खानपिनको अभाव।
‘हामी यो कोलोनीको पास्टर भन्ने ठाउँमा बसेका छौं,’ प्रधानाध्यापक दवाडीले भने, ‘तर अहिले यहाँ कुनै सम्पर्क छैन, खानपिनको व्यवस्था पनि छैन। कसरी खुवाउन सकिन्छ भनेर हेरिरहेका छौं।’
विद्यालयका दुईवटा बस भने सुरक्षित रहेको उनले जानकारी दिएका छन्।
बाढीले विद्यालयको भौतिक संरचनामा क्षति पुर्याउनुका साथै हजारौँ विद्यार्थी र उनीहरूका परिवारलाई त्रासमा पारेको छ। विद्यालयबाट सुरक्षित रूपमा निस्किएका विद्यार्थीहरू कहाँ पुगे, को आफ्नो परिवारसँग छन् र कोसँग अझै सम्पर्क स्थापित हुन बाँकी छ भन्ने विवरण संकलन अहिलेको प्रमुख चुनौती बनेको छ।
विद्यालय प्रशासन, स्थानीय प्रशासन र सुरक्षा निकायले विद्यार्थीहरूको अवस्थाबारे तथ्यगत विवरण संकलन र सम्पर्क स्थापना गर्न तत्काल समन्वय गर्नुपर्ने देखिएको छ। अहिलेको प्राथमिकता हराएका वा सम्पर्कबाहिर रहेका विद्यार्थीको अवस्था यकिन गर्नु, सुरक्षित स्थानमा रहेका विद्यार्थीलाई खाद्यान्न र आवश्यक राहत उपलब्ध गराउनु तथा अभिभावकसँग सम्पर्क स्थापित गर्नु रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्