काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र तत्काल परिचालन गर्न सरकारसँग माग गरेको छ।
बाढीपछि बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसंयोजन समितिको बैठकले बाढीमा घाइते भएका व्यक्तिहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकले बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ। बेपत्ता व्यक्तिको अवस्थाबारे यथाशीघ्र जानकारी प्राप्त गर्न सम्पूर्ण जनशक्ति, संयन्त्र तथा उपलब्ध साधनस्रोत परिचालन गरी खोजी अभियानलाई तीव्र बनाउन पार्टीले माग गरेको छ।
पार्टीले तीनै तहका सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा आम नागरिकलाई खोज तथा उद्धार अभियानमा एकताबद्ध हुन अपिल गरेको छ।
राहत, अस्थायी बसोबास र पुनर्स्थापनाको माग
बाढीबाट उद्धार गरिएका नागरिकका लागि तत्काल आवश्यक आधारभूत राहतको व्यवस्था गर्न पनि पार्टीले माग गरेको छ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था गर्दै दीर्घकालीन रूपमा पुनर्स्थापनाको योजना अघि बढाउनुपर्ने उसको भनाइ छ।
नेकपाले बाढीमा ज्यान गुमाएका नागरिकका परिवारलाई उचित आर्थिक सहायता उपलब्ध गराउन तीनै तहका सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गरेको छ।
भोटेकोशीसँगै त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा समेत जोखिम कायमै रहन सक्ने भन्दै पार्टीले सम्भावित थप क्षति रोक्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित बाढी तथा अन्य विपद्को अवस्थालाई ध्यानमा राख्दै खोज, उद्धार, उपचार तथा राहतका लागि पूर्वतयारी अवस्थामा रहन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
स्वास्थ्यदेखि सञ्चारसम्मका सेवा तत्काल सञ्चालन गर्न माग
बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका अत्यावश्यक सार्वजनिक सेवा तत्काल सञ्चालन गर्न पार्टीले माग गरेको छ।
प्रभावित नागरिकका लागि स्वास्थ्य उपचार, खानेपानी, विद्युत् आपूर्ति, यातायात, टेलिफोन तथा सञ्चार सेवा र सरसफाइ जस्ता आधारभूत सेवा पुनःस्थापित गर्न सरकार तथा सम्बन्धित निकायले प्राथमिकताका साथ काम गर्नुपर्ने पार्टीको भनाइ छ।
बाढीले सडक, पुल, विद्युत् संरचना र सञ्चार प्रणालीमा व्यापक क्षति पुर्याउँदा प्रभावित क्षेत्रका नागरिक थप समस्यामा परेको भन्दै आपत्कालीन सेवाको पुनःसञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने नेकपाले जनाएको छ।
हिमताल र ग्लेसियर जोखिममा नेपाल–चीन संयन्त्र सक्रिय बनाउन आग्रह
पार्टीले देशको उत्तरी सीमावर्ती क्षेत्रमा रहेका हिमताल, ग्लेसियर तथा हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ।
हिमताल फुट्ने, ग्लेसियर पग्लिने तथा सीमापारिबाट उत्पन्न हुन सक्ने बाढीजन्य जोखिमबाट जनधनको सुरक्षा गर्न नेपाल र चीनबीच रहेको द्विपक्षीय संयन्त्रलाई प्रभावकारी रूपमा सक्रिय बनाउन नेकपाले माग गरेको छ।
दीर्घकालीन समाधानका लागि चीनसँग कूटनीतिक पहल गर्दै पूर्वसूचना प्रणाली, विपद् सूचना आदानप्रदान तथा सीमापार जोखिम व्यवस्थापनमा सहकार्य बढाउनुपर्ने पार्टीको जोड छ।
केन्द्रीय खोज, उद्धार तथा राहत समन्वय समिति गठन
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरणलाई प्रभावकारी बनाउन नेपाली कम्युनिस्ट पार्टीले आफ्नै पार्टीगत संयन्त्रसमेत परिचालन गरेको छ।
बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधरको संयोजकत्वमा केन्द्रीय खोज, उद्धार तथा राहत समन्वय समिति गठन गरिएको प्रवक्ता ज्वालाले जानकारी दिए।
उक्त समितिले सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहकार्य गर्ने जनाएको छ।
पार्टीले आफ्ना नेता, कार्यकर्ता, जनप्रतिनिधि, जनवर्गीय तथा मोर्चा सङ्गठनसहित सम्पूर्ण पार्टी पङ्क्तिलाई बाढी प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित हुन निर्देशन दिएको छ।
भोटेकोशीको विनाशकारी बाढीपछि राजनीतिक दलहरूबाट पनि उद्धार, राहत र पुनर्स्थापनालाई केन्द्रमा राखेर सरकारमाथि दबाब बढ्न थालेको छ। अहिलेको अवस्थामा बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, विस्थापितको व्यवस्थापन र प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा पुनःसञ्चालन नै सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्