काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएको छ। बाढीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्याए पनि समयमै सतर्कता अपनाएर विद्यार्थीलाई विद्यालय परिसरबाट बाहिर निकालिएकाले विद्यालयभित्र ठूलो मानवीय क्षति हुनबाट जोगिएको विद्यालय प्रशासनले जनाएको छ।
बुधबार बिहान करिब ९ः१५ बजे आएको भीषण बाढी विद्यालय क्षेत्रमा पस्नुअघि नै विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ पठाइएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताएका छन्।
‘बाढी आउनुभन्दा अगाडि स्कुलभित्र एक जना पनि विद्यार्थी थिएनन्,’ घटनाको विवरण दिँदै उनले भने, ‘बाढी पसेपछि म र प्रदीप पण्डित सर सबैभन्दा अन्तिममा निस्केका हौं।’
विद्यालयमा कक्षा १२ सम्म अध्ययन हुने र कुल १ हजार ६४३ विद्यार्थी रहेको जानकारी दिँदै प्रधानाध्यापक दवाडीले बाढीको सूचना प्राप्त हुनासाथ विद्यार्थीहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको बताए।
तर विद्यालय परिसरबाट बाहिरिएपछि विद्यार्थीहरू विभिन्न दिशातर्फ छरिएकाले अहिले सबै विद्यार्थी कहाँ र कस्तो अवस्थामा छन् भन्ने पूर्ण विवरण संकलन हुन बाँकी रहेको उनले बताए।
‘विद्यालयभित्र कोही पनि थिएन’
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा विद्यालयका सबै विद्यार्थी बाढीमा परेको भन्ने सूचना फैलिएकोप्रति प्रधानाध्यापक दवाडीले आपत्ति जनाएका छन्।
‘सबै विद्यार्थी विद्यालयसँगै बगे भन्ने भ्रामक खबर देखिरहेको छु, त्यो एकदमै गलत हो,’ उनले भने, ‘अन्तिममा म स्कुलबाट निस्किँदा त्यहाँ कोही पनि थिएन।’
उनका अनुसार, शिक्षकहरूले विद्यार्थीहरूलाई मुख्यतः माथिल्लो डाँडातर्फ जान निर्देशन दिएका थिए। तर विद्यालयबाट निस्किएपछि कतिपय विद्यार्थी घरतर्फ, कतिपय सुरक्षित स्थानतर्फ र अन्य विभिन्न दिशामा गएकाले सम्पर्क तथा विवरण संकलनमा कठिनाइ भइरहेको छ।
कतिपय अभिभावकले आफ्ना बालबालिका सम्पर्कमा नआएको भन्दै विद्यालय प्रशासनलाई जानकारी गराएका छन् भने केही विद्यार्थी सुरक्षित रूपमा घर पुगेको खबर पनि प्राप्त भइरहेको उनले बताए।
छात्राबासका ३० छात्रा पनि सुरक्षित
विद्यालय परिसर नजिकै रहेको महिला छात्राबासमा बस्दै आएका करिब ३० जना छात्रालाई पनि सुरक्षित रूपमा उद्धार गरिएको छ। प्रधानाध्यापक दवाडीका अनुसार बाढीको पहिलो प्रहार छात्राबास आसपासको क्षेत्रमा पुगेको भए पनि समयमै सबै छात्रालाई बाहिर निकाल्न सफल भएको विद्यालय प्रशासनले जनाएको छ।
हाल केही शिक्षक, कर्मचारी तथा विद्यार्थी गरी करिब ५० जना व्यक्ति त्रिशूली बजार नजिकैको माथिल्लो डाँडामा सुरक्षित रहेको बताइएको छ।
तर बाढीपछि त्यस क्षेत्रमा सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ। विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल तथा अन्य सञ्चार उपकरणको ब्याट्री सकिन थालेको र उद्धार तथा सम्पर्क कार्य थप चुनौतीपूर्ण बनेको छ।
विद्यालय खण्डहर, बस भने सुरक्षित
भीषण बाढीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनालाई ठूलो क्षति पुर्याएको छ। बाढीपछि विद्यालय परिसर लेदो, हिलो र बाढीले बगाएर ल्याएका सामग्रीले भरिएको छ।
विद्यालयको संरचना गम्भीर रूपमा क्षतिग्रस्त भए पनि विद्यालयका तीनवटा बस भने सुरक्षित रहेको प्रधानाध्यापक दवाडीले जानकारी दिएका छन्।
त्रिशूली बजार क्षेत्रमै बाढीले व्यापक विनाश गरेको छ। स्थानीय बस्ती, व्यापारिक प्रतिष्ठान तथा विभिन्न सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। कतिपय स्थानमा मानिसहरू घरभित्रै फसेको र उद्धार कार्य अझै चुनौतीपूर्ण रहेको स्थानीय स्रोतहरूले बताएका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा आएको असाधारण बाढीले विद्यालय मात्र होइन, नुवाकोट र आसपासका जिल्लाका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा सार्वजनिक संरचनामा समेत गम्भीर क्षति पुर्याएको छ।
समयमै विद्यालय खाली गराउने निर्णयले त्रिभुवन त्रिशूली माविमा सम्भावित ठूलो मानवीय क्षति टरेको भए पनि विद्यालयबाट बाहिरिएपछि विभिन्न दिशामा गएका विद्यार्थीहरूको अवस्थाबारे पूर्ण विवरण संकलन गर्नु अहिले विद्यालय प्रशासन र स्थानीय निकायका लागि प्रमुख चुनौती बनेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्