काठमाडौं, १० भदौ । रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रमा पशुचौपायामा संक्रामक तथा पशुजन्य रोग फैलिन सक्ने जोखिम बढेपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ।
मन्त्रालयले बाढीका कारण पशुचौपायाको विस्थापन, आवतजावत तथा आपसी सम्पर्क बढ्न सक्ने र त्यसबाट विभिन्न संक्रामक रोग फैलिने सम्भावना रहेकाले तत्काल रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको हो।
कृषिमन्त्री गीता चौधरीले विशेषगरी बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा पशु स्वास्थ्यसम्बन्धी विशेष टोली परिचालन गर्न निर्देशन दिएकी छन्। ती टोलीले प्रभावित क्षेत्रमा पशुचौपायाको स्वास्थ्य अवस्था निगरानी गर्ने, सम्भावित रोगको पहिचान गर्ने तथा आवश्यक उपचार, रोकथाम र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नेछन्।
मानवसँगै पशु स्वास्थ्यमा पनि प्राथमिकता
मन्त्रालयले विपद्को समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। बाढीपछि पशुचौपायाको मृत्यु, विस्थापन, दूषित पानी तथा दानाको समस्या र विभिन्न रोगको संक्रमण फैलिन सक्ने भएकाले समयमै निगरानी र उपचार आवश्यक रहेको मन्त्रालयको भनाइ छ।
समन्वयमा जोड
सम्भावित पशुजन्य रोगको जोखिम न्यूनीकरण गर्न सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा पशु स्वास्थ्यकर्मीबीच प्रभावकारी समन्वय कायम गर्न पनि मन्त्रालयले जोड दिएको छ।
पशु सेवा विभागलाई प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरी रोग पहिचान, निगरानी, रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि तथा अन्य स्रोतसाधनको व्यवस्था गर्न निर्देशन दिइएको छ। मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा पशुधनको सुरक्षा र स्वास्थ्य व्यवस्थापनलाई राहत तथा पुनःस्थापना अभियानको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्