त्रिशूली (नुवाकोट) । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटमा पनि व्यापक जनधनको क्षति पुर्याएको छ। ढुङ्गे बजारदेखि त्रिशूली, वेत्रावती हुँदै माथिल्लो तटीय क्षेत्रसम्म बस्ती, सडक, पुल, विद्यालय तथा व्यापारिक संरचनामा ठूलो क्षति पुगेको छ भने कैयौँ नागरिक अझै सम्पर्कविहीन रहेका छन्।
नुवाकोटको किस्पाङ गाउँपालिका–५, नयाँपुलस्थित ‘त्रिशूली थ्री बी’ आयोजनामा कार्यरत ३२ वर्षीय सुरज श्रेष्ठ बिहान करिब ९ बजे कामस्थलबाट निस्कँदा सम्भावित बाढीबारे कुनै सूचना नभएको बताउँछन्। करिब तीन किलोमिटर तल ढुङ्गे बजारतर्फ जाँदै गर्दा उनले त्रिशूलीमा आएको अस्वाभाविक बाढी देखेपछि सहकर्मी गणेश प्रसाईंसँगै ज्यान जोगाउन उकालो लागे।
दुवै जना करिब चार किलोमिटर वनक्षेत्र पार गर्दै बट्टार बजार पुग्न सफल भए। तर आफूहरू सुरक्षित भए पनि अन्य सहकर्मीको अवस्था अज्ञात रहेपछि उनीहरू दिनभर विदुरस्थित श्री नं. १ मैथली ब्यारेकअगाडि जानकारीको प्रतीक्षामा बसेका थिए।
३९ जनाको उद्धार, गम्भीर घाइते काठमाडौँ पठाइयो
मैथली ब्यारेकका अनुसार बुधबार साँझ ६ बजेसम्म त्रिशूली बजार क्षेत्रबाट ३९ जनाको उद्धार गरिएको थियो। उद्धार गरिएकाहरूलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराइएको र गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जनाइएको छ।
यसैबीच, रातिसम्म दर्जनौँ व्यक्तिले सम्पर्कविहीन भएका आफ्ना आफन्त र परिवारजनको खोजीका लागि नेपाली सेनासमक्ष जानकारी गराएका थिए। बाढीले बस्ती नै पुरेकाले बेपत्ता हुनेको यकिन विवरण संकलन गर्न कठिन भइरहेको छ।
ढुङ्गे बजारका करिब ४५ घर पुरिए
रसुवापछि नुवाकोटमा सबैभन्दा ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। सशस्त्र प्रहरीको १ नम्बर गुल्म, ढुङ्गे बजारका प्रहरी सहायक निरीक्षक रूपेश रायका अनुसार ढुङ्गे बजारका करिब ४५ वटा घर त्रिशूलीको बाढीमा पुरिएका छन्।
उनका अनुसार बिहान करिब ९ बजेर १० मिनेटदेखि स्थानीयलाई माइकिङ गरेर सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको थियो। तर बाढीको बहाव अत्यन्त तीव्र रहेकाले सुरक्षाकर्मीहरू स्वयं पनि ज्यान जोगाउन दौडिनुपरेको थियो।
“हामीले माइकिङ सुरु गरेर ढुङ्गे बजार खाली गराउँदै थियौँ,” रायले भनेका छन्, “पुलपारि फर्किनै लाग्दा बाढी हाम्रो पछाडि आइपुग्यो। केही सेकेन्डकै अन्तरमा पुल बगायो र साढे दुईतले भवनहरू पनि पुरिँदै गए।”
विद्यालय र बस्तीसमेत क्षतिग्रस्त
त्रिशूली बजारमा रहेको त्रिभुवन माध्यमिक विद्यालय तथा मदरसासमेत बाढीबाट प्रभावित भएका छन्। बाढीले घरभित्र रहेका मानिसलाई सुरक्षित स्थानमा पुग्ने समयसमेत नदिएको स्थानीयको भनाइ छ।
विदुर–२, सिलट्याङ्कीका ४९ वर्षीय किशोरी विश्वकर्मा पनि अचानक आएको बाढीपछि सम्पर्कविहीन छन्। उनका छोरा मिलन विश्वकर्माका अनुसार बुवाले रुख समातेर ज्यान जोगाउन सफल भए पनि आमाको अवस्था अहिलेसम्म अज्ञात छ।
“बुवा रुख समातेर बाँच्नुभयो, तर अगाडि रहेकी आमाको अहिलेसम्म खबर छैन,” उनले भने। उनकी बहिनी भने बिहानै कलेज गएकाले सुरक्षित रहेको परिवारले जनाएको छ।
ढुङ्गेदेखि वेत्रावतीसम्मका बस्तीमा व्यापक क्षति
बाढीले ढुङ्गे बजार, त्रिशूली बजार, वेत्रावती हुँदै टिमुरेसम्म भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पुर्याएको छ। नदी आसपासका करिब पाँचदेखि आठ सय मिटरसम्मका क्षेत्रमा रहेका घर, होटल, पसल तथा अन्य संरचना बाढीको चपेटामा परेका छन्।
ढुङ्गे बजारको माथिल्लो क्षेत्रसँग सडक सम्पर्कसमेत टुटेको छ। बजारमुनिको सिमचौरस्थित बस्ती पनि बाढीले बगाएको जनाइएको छ।
प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले ढुङ्गे बजारभन्दा माथिल्लो क्षेत्रमा तत्काल स्थलमार्गबाट राहत तथा उद्धार पुर्याउन अत्यन्त कठिन रहेको बताएका छन्।
उनका अनुसार ढुङ्गे बजारदेखि माथिल्लो क्षेत्रसम्मको करिब ४५ किलोमिटर सडक क्षतिग्रस्त भएको छ भने १९ वटा मोटरेबल पुल बगाएका छन्।
“माथिल्लो क्षेत्रमा रहेका घर, होटल, विद्यालय र पसलहरूमा ठूलो क्षति पुगेको छ,” उनले भने, “मानवीय क्षतिको यकिन विवरण आउन बाँकी छ, तर भौतिक क्षति निकै ठूलो देखिएको छ।”
बाढीले प्रमुख सडक तथा पुलहरू बगाएपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने र खोज तथा उद्धार टोली परिचालन गर्ने काम जटिल बनेको छ। स्थलमार्ग अवरुद्ध हुँदा हेलिकप्टर र वैकल्पिक मार्गको सहारा लिनुपर्ने अवस्था सिर्जना भएको छ।
लगातारको वर्षा र नदीमा अझै उच्च बहाव कायम रहेकाले उद्धार टोलीसमेत उच्च जोखिमका बीच परिचालित छन्। प्रभावित क्षेत्रमा कति मानिस बेपत्ता छन्, कति सुरक्षित स्थानमा पुगेका छन् र कति उद्धारको प्रतीक्षामा छन् भन्ने यकिन विवरण संकलन अझै जारी रहेको सुरक्षा निकायले जनाएको छ।
रसुवाको माथिल्लो भेगबाट सुरु भएको यो विनाशकारी बाढी नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रसम्म फैलिँदा बस्ती, पूर्वाधार र जनजीवनमा अभूतपूर्व संकट सिर्जना भएको छ। अहिलेको प्रमुख चुनौती बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकको उद्धार, घाइतेको उपचार तथा सडक सम्पर्कविहीन बस्तीमा तत्काल राहत पुर्याउनु रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्