काठमाडौं । भोटेकोशी खोलामा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन्। उनले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्र बनाउन तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
पूर्वराजा शाहले जारी गरेको सन्देशमा बाढीका कारण बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना, अन्य भौतिक संरचना तथा खेतीपातीमा पुगेको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले विपत्तिबाट प्रभावित नागरिक तथा शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेका छन्।
नेपाल–भारत–चीनबीच संयुक्त प्रयासको सुझाव
पूर्वराजा शाहले सीमापार प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच संयुक्त तथा समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।
उनले यस्ता विपत्तिको प्रभाव एक देशमा मात्र सीमित नहुने उल्लेख गर्दै नदी प्रणाली, हिमाली क्षेत्र र सीमापार वातावरणीय जोखिमका विषयमा तीनै देशबीच सूचना आदानप्रदान, पूर्वतयारी र साझा रणनीति आवश्यक रहेको बताएका छन्।
सबैलाई उद्धार र राहतमा जुट्न आह्वान
पूर्वराजा शाहले विपत्तिको घडीमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक तथा सामाजिक सङ्घ–संस्था र नागरिक समुदाय एकजुट भएर खोज, उद्धार र राहत कार्यमा सक्रिय हुन आह्वान गरेका छन्।
उनले तत्कालीन राहत र उद्धारसँगै भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना, प्रभावकारी पूर्वतयारी तथा जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्नेमा पनि जोड दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्