रसुवा । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाले करिब आठ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको छ।
सेनाले आठ वटा ट्रकमार्फत गएराति नै राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जनजीवन कष्टकर बनेसँगै तत्काल आवश्यक पर्ने सामग्री प्राथमिकताका साथ पठाइएको सेनाले जनाएको छ।
राहत सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १०० थान त्रिपाल, १० थान प्लास्टिक सिट तथा ५०० थान सोलार बत्ती र सोलार प्लेट रहेका छन्।
यस्तै, प्रभावित क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै ३० केभिए क्षमताको एक थान जेनेरेटरसमेत पठाइएको छ।
बाढी प्रभावित नागरिकलाई तत्काल राहत र मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री राति नै ढुवानी गरिएको हो। गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा राहत सामग्रीको व्यवस्थापन तथा ढुवानी गरिएको बताइएको छ।
सरकारले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ। प्रभावित नागरिकलाई तत्काल सहायता उपलब्ध गराउन आवश्यक सबै प्रयास भइरहेको सरकारले जनाएको छ।
गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्